तीन डिआईजीको मुद्दा न्यायाधीश रेग्मीको इजलासमा

प्रहरी अतिरिक्त महानिरीक्षक ( एआईजी​) पदमा बढुवा गर्दा विभेद गरेको भन्दै सर्वोच्च अदालत पुगेका तीन प्रहरी नायव महानिरीक्षक (डिआईजी) को रिटमा आइतबार सुनुवाइ हुँदैछ । 

सुनुवाइका लागि रिटको पेसी न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा तोकिएको छ । डिआईजीहरू घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीले बिहीबार सर्वोच्चमा रिट दायर गरेका थिए । 

लोकसेवा आयोगबाट वरिष्ठता प्रमाणित हुने लिखित विवरणपछि उनीहरू रिट लिएर सर्वोच्च पुगेका हुन् । रिटमा उनीहरूले कनिष्ठलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको भन्दै सिफारिस गर्ने निर्णय बदरको माग गरेका छन् । 

उनीहरूले सर्वोच्च जानुअघि बढुवाविरुद्धको सुनुवाइ समितिमा उजुरी दिएका थिए । समितिले कैफियत नदेखिएको ठहर गरेपछि बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले एआईजीमा सिफारिस भएका डिआईजीहरूको बढुवा गरेको थियो ।

बढुवा भएकाहरू वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुक हुन् । उनीहरूलाई गृहसचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिले एआईजीमा बढुवा सिफारिस गरेको हो । 

वरियतामा भने पन्त तेस्रो, सिंह छैटौँ र धानुक आठौँमा थिए । पाण्डे नेतृत्वको समितिले वरीयता मिचेर कनिष्ट डिआईजीहरूलाई एआईजी बनाएपछि उनीहरू बढुवा समिति हुँदै सर्वोच्च पुगेका हुन् । 
 





  • प्रकाशित मिति : चैत २०, २०७८ आइतबार ११:५४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया