अस्ट्रेलियालाई सातौंपटक आइसिसी महिला विश्वकपको उपाधि

आइसिसी एकदिवसीय महिला विश्वकको उपाधि अस्ट्रेलियाले उचालेको छ । 

ऊ आज सम्पन्न फाइनलमा साविक विजेता इंग्ल्याण्डलाई ७१ रनले हराउँदै सातौंपटक विश्व विजेता बनेको हो ।  

३५७ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले ४३.४ ओभरमा सबै विकेट गुमाउँदै २८५ रन मात्र बनाउन सक्यो ।  

नेटली स्काइभरले शतकीय पारी खेले पनि इंग्ल्याण्डलाई जित दिलाउन भने सकिनन् । १४८ रनमा अविजित रहेकी उनले १२१ बलको सामना गर्दै १५ चौका र १ छक्का प्रहार गरिन् । 

नवौं विकेटका लागि स्काइभर र सार्लेट डिनले ६५ रनको साझेदारी गरेका थिए । डिनले २१ रन बनाइन् ।  

त्यस्तै पाँचौ विकेटका लागि स्काइभर र सोफी डंकलीले ५० रनको साझेदारी गरेका थिए । डंकली २३ रन बनाएर आउट भइन् । 



अस्ट्रेलियाका लागि एलना किंग्स र जेस जोनसेनले तीन–तीन मेगन स्कटले २ तथा ताहिल्या म्याकग्रेथ र एश्ले गार्डनरले एक-एक विकेट लिए । 

यसअघि न्युजिल्याण्डको क्राइस्टचर्चस्थित हेग्ले ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३५६ रन बनाएको थियो । 



उसका लागि एलिसा हेलीले शतकीय तथा रचेल हाइनेस र बेथ मोनीले अर्धशतकीय पारी खले । १७० रन बनाएकी हेलीले १३८ बलमा २६ चौका प्रहार गरिन् । 

९३ बलको सामना गरेकी हाइनेसले सात चौकासहित ६८ र मोनीले ४८ बलमा आठ चौकासहित ६२ रन बनाए ।  एलिस पेरी १७ रनमा अविजित रहिन् । 

पहिलो विकेटका लागि हेली र हाइनेसले १६० तथा दोस्रो विकेटका लागि हेली र मोनीले१५६ रनको उत्कृष्ट साझेदारी गर्दै अस्ट्रेलियाको पारी उकासेका थिए । 

इंग्ल्याण्डका लागि अन्या श्रेबसोलले तीन तथा सोफी एक्लेस्टोनले एक विकेट हात पार्दा एक विकेट रन आउटका रूपमा प्राप्त भयो । 

  • प्रकाशित मिति : चैत २०, २०७८ आइतबार १३:४६:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया