कांग्रेसको ‘केन्द्र’ विराटनगर : कुन दलबाट को आकांक्षी ?
माओवादी जसपाभन्दा कमजोर, एमालेलाई पनि सहज छैन

लामो समयदेखि नेपाली कांग्रेसका शीर्ष नेताहरूले प्रभुत्व जमाउँदै आएको स्थानीय तह हो– विराटनगर महानगरपालिका । त्यति मात्र होइन, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहप्रदेशभरकै एउटा मात्र महानगर पनि हो ।

मर्यादा क्रम तल भए पनि पर्याप्त बजेट परिचालन गर्ने अवसरका कारण पनि संघ र प्रदेशमा मन्त्री भइसकेकाहरूको लाइन पनि अहिले स्थानीय निर्वाचनमा बाक्लो हुँदै गएको छ ।

त्यसो त, सत्तारुढ गठबन्धनले ‘आवश्यकता’अनुसार तालमेल गर्ने निर्णय गरेर अघि बढेपछि एमालेलाई ०७४ को साख जोगाउनेगरी रणनीति बनाउन धौ–धौ परेको छ ।

महानगरको नेतृत्व कुन दलले कसरी लिने भन्नेबारे सत्तारुढ गठबन्धनमा अहिलेसम्म औपचारिक निर्णय भएको छैन । तैपनि नेताहरू आ–आफ्ना आकांक्षाहरू एकपछि अर्को गरी प्रस्फुटित भइरहेका छन् ।

कांग्रेसभित्र कोइराला परिवारका नेताहरूको लिगेसी बोकेको विराटनगरमा कसले नेतृत्व हत्याउने भन्नेबारे बहस चर्को बन्दै गइरहेको छ ।

विराटनगरको चुनाव–०७४ लाई फर्केर हेर्दा



०७४ को निर्वाचनमा विराटनगरको प्रमुख र उपप्रमुख दुवै पदमा कांग्रेस विजयी भएको थियो । प्रमुखमा कांग्रेसका भीम पराजुलीले २३ हजार ३१ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका विनोदप्रसाद ढकालले १७ हजार ३२१ मत ल्याएका थिए ।

यस्तै, संघीय समाजवादी फोरमका उमेशकुमार यादवले १४ हजार ९५८ र राप्रपाका प्रह्लादप्रसाद साह हलुवाइले ५ हजार ५२४ मत पाएका थिए । उपप्रमुखतर्फ कांग्रेसकी इन्दिरा कार्कीले २० हजार १४६ मत हासिल गरेर विजयी हुँदा नेकपा माओवादी केन्द्रकी नमिना न्यौपानेले ११ हजार ५२४, मधेसी जनअधिकार फोरमकी सूची चौधरीले १० हजार ५३६, राप्रपाकी शोभा श्रेष्ठले ४ हजार १०२ मत हासिल गरिन् ।



यस महानगरमा भएको तीन पक्षीय प्रतिस्पर्धा निकै रोचक पनि बनेको थियो ।

एमाले र नेपाल लोकतान्त्रिक फोरमबीच गठबन्धन हुँदा माओवादी केन्द्र र संघीय समाजवादी फोरमबीच पनि गठबन्धन बनेको थियो । एक्लै प्रतिस्पर्धामा उभिएको कांग्रेस प्रमुख र उपप्रमुखसहित महत्त्वपूर्ण स्थानमा अघि आउन सफल भएको थियो ।

कुन दलबाट को आकांक्षी ?

०७४ को निर्वाचन समीक्षा गर्दा नै विराटनगरमा कांग्रेसको बलियो उपस्थिति छ । ६ महानगरपालिकामध्ये कांग्रेसले ललितपुर र विराटनगरको प्रमुखमा मात्रै आफ्नो सिट सुरक्षित गर्न सफल भएको थियो ।

विराटनगरमा यतिबेला कांग्रेसलाई ०७४ को साख जोगाउने चुनौती छ । बलियो कांग्रेस अगाडि उभिँदा गठबन्धनसमेत एकातर्फ उभिने निश्चित भइसकेको छ । जसको कारणले एमालेलाई झनै समस्या थपिदिएको छ, विराटनगरमा ।

एमालेबाट कसको चर्चा ?

०७४ को निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका विनोदप्रसाद ढकालले पराजय व्यहोर्नुपरेको थियो । उनले ६ हजार बढी मतान्तरसहित पराजय व्यहोरेका थिए ।

एमालेबाट विराटनगरको मेयरमा स्थायी कमिटी सदस्य गुरु बराल, केन्द्रीय सदस्य रामलाल साह, एमाले मोरङका उपाध्यक्ष बाबुराम कार्की र विराटनगर महानगर कमिटी अध्यक्ष सागर थापाले आकांक्षा देखाएका छन् ।

दुई पटक महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति रहेका थापा विराटनगरको मेयरको प्रतिस्पर्धामा देखिन सक्ने सम्भावना छ । २०५७ सालमा  थापा महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापति हुँदा अहिलेका मेयर भीम पराजुली कोषाध्यक्ष थिए ।

त्यसो त, प्रदेश १ का मन्त्री बनिसकेका जीवन घिमिरेको नाम पनि एमालेवृत्तमा चर्चामा छ । उनले आफूले दाबी नगरेको सार्वजनिक गरेका छन् । यद्यपि, कांग्रेसको विरासत भत्काएर एमालेलाई जित्न भने विराटनगरमा कठिन रहेको चर्चा सुनिन थालेका छन् ।

कांग्रेसको विरासत कसले थाम्ने ?

बहालवाला मेयर पराजुली, कांग्रेस केन्द्रीय सदस्य डिला संग्रौला, मोरङ उपसभापति नागेश कोइराला, उपमेयर इन्दिरा कार्कीलगायतको नाम कांग्रेसभित्र विराटनगरको मेयरका लागि चर्चामा छन् ।

त्यसो त, यी नाममध्ये गठबन्धनमा समेत सहमति हुनेगरी मेयरको टिकट दिनुपर्ने छ । केन्द्रीयस्तरमा नेताहरूसँग राम्रो पकड बनाएकी संग्रौला टिकटका लागि लबिङ गर्न थालिसकेकी छिन् ।

उसो त, यसअघि मेयर बनेका पराजुलीले पार्टीभित्र संस्थापन पक्षको साथ लिएपछि उनले टिकट पाउने/नपाउने भन्नबारे बहस हुन थालेको छ । उनी यसअघि कोइराला प्यानलका मानिन्थे । तर, १४ औं महाधिवेशनमा गुट परिवर्तन गरेर केन्द्रीय सदस्य बनेका पराजुली पुनः मेयरमा दोहोरिने लाइनमा भने छन् ।

उता, देशभरबाट उपमेयरहरूको आकांक्षा बढ्दा यहाँकी उमपेयरले पनि आफूलाई सो रेसमा सहभागी गराएकी हुन् ।

जसपाबाट को ?

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको पकड क्षेत्रका रूपमा लिइन्छ, विराटनगरलाई । कांग्रेस र एमालेपछि सबैभन्दा ठूलो दलको रूपमा जसपा नै छ ।

त्यसो त, उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव, प्रदेश १ का बहालबाला स्वास्थ्यमन्त्री जयराम यादव, अघिल्लो पटक मेयरमा उठेर पराजित भएका उमेश यादव, पूर्वउपमेयर भूराज राई र जसपाका केन्द्रीय सदस्य तेजलाल कर्णलगायतको नाम चर्चामा छन् ।

जसपाबाट मेयरको दाबी गरिरहेकाहरूले टिकटका लागि दौडधूप सुरु गरिसकेका छन् ।

माओवादीबाट को ?

विराटनगरमा माओवादी केन्द्रको उपस्थिति भने केही कमजोर देखिएको छ । माओवादी केन्द्रबाट भागेन्द्र यादव र नमिना न्यौपानेको नाम चर्चामा छ । न्यौपाने यसअघि उपमेयरमा पराजित भएकी हुन् । यादवले उम्मेदवारी दर्ता गराएर पनि  फिर्ता लिएका थिए ।

उनीहरूमध्ये एक जनाले मेयरको टिकट पाउने सम्भावना छ । तर, गठबन्धनमा कस्तो सहमति हुने हो ? भन्ने कुराले पनि उनीहरूको उम्मेदवारीलाई प्रभाव पार्न सक्छ ।

  • प्रकाशित मिति : चैत २०, २०७८ आइतबार १५:३३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया