विभेदविरुद्ध सडक र संसदमा लडाइँ गर्न आवश्यकः अध्यक्ष यादव

जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले जातीय र वर्गीय आधारमा भइरहेको विभेदविरुद्ध सडक र संसदमा लडाइँ गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

सप्तरीको सडक योजनाको शिलान्यास गर्ने क्रममा अध्यक्ष यादवले यस्तो बताएका हुन् । अध्यक्ष यादवले भने, ‘जबसम्म देशका सबै जनतालाई समान अधिकार र व्यवहारको वातावरण बन्दैन, तबसम्म संघर्ष जारी रहन्छ ।’

विभेद राष्ट्र निर्माणका लागि बाधक रहेकाले यसलाई जराबाटै उखेल्नुपर्नेमा उनले जोड दिए । उनले एकै दिन जिल्लाका चारवटा सडक निर्माण योजनाको शिलान्यास गरेका छन् । निर्वाचन क्षेत्र नम्बर २ मा थप दुई सडक र क्षेत्र नम्बर १ मा दुई वटा सडकको शिलान्यास गरेका हुन् ।

राजविराज नगरपालिका वडा नम्बर–१० स्थित पूजापाठ गरी दिघबा–बिरौल–डुमरी–भरुवा–झल्हीफर्सेठ–सिगियौन–तिलाठी–चट्टी टोल–लोखरम–लालापट्टी सडकको उनले शिलान्यास गरेका हुन् । 

उक्त सडकको कुल बजेट ५४ करोड ८९ लाख ५६ हजार ३ सय ७६ रुपैयाँ ३८ पैसा रहेकोमा रमण जेएस आइभी कन्सट्रक्सनसँग उक्त सडक ३१ करोड ३८ लाख ८७ हजार १ सय १८ रुपैयाँ ५६ पैसामा निर्माण गर्ने सम्झौता भएको छ ।

यसैगरी, महदेवा गाउँपालिका वडा नम्बर–१ पकरीदेखि सोनरा–तोपा हुँदै राजविराज वडा नम्बर १५ मुसहरनियाँ–विषहरिया सकरपुरा हुँदै रम्पुरा–डलवासम्मको सडक समेतको उनले शिलान्यास गरे।



उक्त सडकको कुल बजेट ५४ करोड ६३ लाख हजार ७ सय ५१ रुपैयाँ रहेकोमा रमण जेएस आइभी कन्स्ट्रक्सनले ३१ करोड २४ लाख ८ हजार ३ सय २४ रुपैयाँ २८ पैसामा निर्माण गर्ने जिम्मा पाएको छ ।

यस्तै, संघीय सरकारको रणनीतिक सडकअन्तर्गत कुल बजेट २५ करोडको लागतमा सप्तरीको भारदह डाढा, पकरी सडक खण्डलाई समेत भारदहमा पूजापाठ गरी यादवले शिलान्यास गरे ।



राजविराजदेखि भारदहसम्म सो बाटोलाई दुई लेनको रूपमा विकास गरिने जसपा केन्द्रीय सदस्य अशोक यादवले बताए ।

संघीय सरकार र मधेस प्रदेश सरकारको समपूरक अनुदानअन्तर्गत निर्माण हुने सडक खण्ड शिलान्यास कार्यक्रममा संघीय सरकारका भौतिक योजना तथा पूर्वाधार यातायात योजनामन्त्री रेणुकुमारी यादव, संघीय सांसद डा. सूर्यनारायण यादव, मधेस प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, प्रदेश सांसद मनीषकुमार सुमन, राजविराज नगरपालिका मेयर शम्भु यादव, मधेस प्रदेश आममिडिया प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, सदस्य अमरेन्द्र यादवलगायत सहभागी थिए । 

  • प्रकाशित मिति : चैत २०, २०७८ आइतबार १८:३६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया