पर्यटन व्यवसाय ४५ प्रतिशतले रिकभर : सिइओ रेग्मी

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले कोभिड–१९ को महामारीपछि गत मार्च महिनामा नेपालमा पर्यटकको संख्या उल्लेख्य मात्रामा वृद्धि भएको बताएका छन् । 

कोभिड–१९ को महामारीका कारण विगत दुई वर्षदेखि सुस्ताएको पर्यटन क्षेत्र पछिल्लो समय पर्यटकहरुको आगमन बढेसँगै बिस्तारै उक्सिन थालेको उनको भनाइ छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. रेग्मीले समग्रमा नेपालको पर्यटन व्यवसाय ४५ प्रतिशतले रिकभर भएको बताए । 

छिमेकी देश भारतबाट गत मार्च महिनामा १५ हजार १३ जना पर्यटक आएको उनले जानकारी दिए । सन् २०१९ को मार्च महिनामा पर्यटकको संख्या १५ हजार ६ सय ६ रहेको पनि उनले बताए । 

बंगलादेशबाट पनि सन् २०१९ को भन्दा बढी पर्यटक भित्रिएका उनले उल्लेख गरे । प्रमुख कार्यकारी अधिकृत रेग्मीले सन् २०१९ को तुलनामा एसियन देशहरुमा २.४ प्रतिशतले मात्रै माइनसमा रहेको बताए । 

एसियन देशहरुमा कतिपय देशहरु नखुलिसकेको र एयरलाइन्स पनि नखुलिरहेको अवस्थामा ती देशहरुबाट अझ पर्यटन आउन बाँकी रहेको उनको भनाइ छ । चीन, जापान, मलेसिया, सिंगापुर, कोरिया, म्यान्मार, थाइल्याण्डको केसमा माइनस ९३ प्रतिशत रहेको उनको भनाइ छ ।

अमेरिकाको माइनस ४४ प्रतिशत रहेको तथा युरोपियन देशहरुमा भने ४५ प्रतिशत रिकभर भइसकेको उनले जानकारी दिए । बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. रेग्मीले समग्रमा पर्यटन क्षेत्र ४५ प्रतिशतले रिकभर भएको बताए । 



अहिलेकै अवस्थामा अगाडि बढेमा अक्टोबरसम्ममा सन् २०१९ कै अवस्थामा पुग्न सकिने उनले बताए । विशेषगरी बंगलादेश, भारत र श्रीलंकालाई फोकस गरेर मार्केटिङ गर्नुपर्नेमा उनले जोड दिए । 

विदेशी पर्यटकहरुले पोखरालाई मुख्य गन्तव्य बनाएको उनले बताए । धेरैजसो पर्यटकहरु ट्रेकिङमा गएको र दैनिक एक सयजनाभन्दा बढीलाई ट्रेकिङको लागि इजाजत दिइएको रेग्मीले बताए । पोखरा, धरान, नेपालगन्जलगायत ठूला सहरहरुको अवस्था हेर्दा होटलहरु पहिलेकै अवस्थामा सञ्चालन भइरहेका र होटलहरुले बिजनेस पाइरहेको उनले बताए । 



रेग्मीले नेपालको पर्यटन बजार बिस्तारका लागि भारतीय पर्यटकलाई सम्मान गर्नुपर्नेमा जोड दिए । भारतीय पर्यटकलाई नेपालमा सहजता ल्याउनका लागि नेपाल सरकारले नीतिगत सुधारमा ध्यान दिनुपर्ने उनले बताए । उनीहरुलाई नेपाल प्रवेश र पैसा सटहीमा सहजता ल्याउनुपर्ने उनको भनाइ छ । 

भारतीय पर्यटकहरुलाई पर्यटकको व्यवहार गर्न र अनावश्यक दुःख नदिन पनि उनले सरोकारवाला सबैसँग अनुरोध गरे । 

  • प्रकाशित मिति : चैत २१, २०७८ साेमबार १७:२९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया