मधेस प्रदेशमा टाइफाइड रोग विरुद्धको खोप अभियान सुरु हुँदैछ।
चैत २५ देखि २०७९ वैशाख १८ गतेसम्म यस प्रदेशका १३६ वटै स्थानीय तहमा टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन हुन लागेको हो ।
जसअन्तर्गत प्रदेशका १५ महिनादेखि १५ वर्षसम्मका १७ लाख ८७ हजार ७१० जना बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने छ ।
स्वास्थ्य निर्देशनालय मधेस प्रदेशका निर्देशक विजयकुमार झाका अनुसार खोपबाट बचाउन सकिने रोगहरूलाई शून्यमा झार्ने नेपाल सरकारको लक्ष्य अनुसार प्रदेशमा बढ्दो टाइफाइड विरुद्ध खोप अभियान सञ्चालन गर्न थालिएको हो ।
पूर्ण खोपको सुनिश्चितता गर्न, खोप कभरेज ९५ प्रतिशत पुर्याउने जिल्लामा अभियानकै रूपमा खोप दिन थालिएको छ ।
उनले भने, ‘टाइफाइड दूषित पानी र खानेकुराबाटै संक्रमण हुने रोग हो । चैत र वैशाखमा धुलो धुवाँ बढ्ने, गर्मीले खानेकुरा पनि सफा नहुने भएकोल रोग फैलिने जोखिम हुन्छ । बेलैमा सचेत रहन तथा टाइफाइडबाट बालबालिकालाई खोप अभियान चलाउने तयारी गरिएको हो ।’
निर्देशक झाका अनुसार खोपबाट कोही बालबालिका नछुट्ने गरी प्रदेशका सबै वडास्तरसम्मका विद्यालयमा पनि खोप टोली परिचालन गरिने छ।
प्रदेशको सप्तरी जिल्लामा १५ महिनादेखि ४ वर्षसम्मका ३६ हजार ३६७ र ४ वर्षदेखि १५ वर्षसम्मका १ लाख ४३ हजार ७४२, सिरहामा १५ महिनादेखि ४ वर्षसम्मका ४२ हजार ३६९ र ४ वर्षदेखि १५ वर्षसम्मका १ लाख ६२ हजार ५५२, धनुषामा १५ महिनादेखि ४ वर्षसम्मका ४३ हजार ९९६ र ४ वर्षदेखि १५ वर्षसम्मका १ लाख ७४ हजार १९७ र महोत्तरीमा १५ महिनादेखि ४ वर्षसम्मका ४८ हजार ३४९ र ४ वर्षदेखि १५ वर्षसम्मका १ लाख ७४ हजार ८०६ जना बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने छ ।
त्यस्तै, सर्लाही जिल्लामा १५ महिनादेखि ४ वर्षसम्मका ५५ हजार ३६९ र ४ वर्षदेखि १५ वर्षसम्मका २ लाख ८ हजार १७२, रौतहटमा १५ महिनादेखि ४ वर्षसम्मका ५५ हजार ८१२ र ४ वर्षदेखि १५ वर्षसम्मका २ लाख ३०७, बारामा १५ महिनादेखि ४ वर्षसम्मका ५० हजार ९२७ र ४ वर्षदेखि १५ वर्षसम्मका १ लाख ९० हजार ७८२ एवम् पर्सा जिल्लामा १५ महिनादेखि ४ वर्षसम्मका ४० हजार ७५१ र ४ वर्षदेखि १५ वर्षसम्मका १ लाख ५९ हजार २१२ जना बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले जानकारी दिए ।
मधेस प्रदेशमा ४ वर्षमुनिका ३ लाख ७३ हजार ९४० र ४ देखि १५ वर्ष उमेर समूहका १४ लाख १३ हजार ७७० बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाइने भएको छ ।
आगामी चैत २५ गतेदेखि २०७९ वैशाख १८ गतेसम्म १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाइने स्वास्थ्य निर्देशनालय मधेस प्रदेशले सञ्चारकर्मीसँगको अन्तरक्रियामार्फत् जानकारी दिएको हो ।
सरकारी तथ्यांकमा पछिल्लो पाँच वर्षको अवधिमा नेपालमा ४ लाख ५० हजार बालबालिका टाइफाइड रोगका कारण बिरामी परेका छन्।
बालबालिकालाई जोखिमबाट जोगाउन नेपालका ७५ लाख डोज टाइफाइड विरुद्धको खोप लगाउन लागिएको हो ।
प्रदेशका सबै बालबालिकालाई खोप सेवामा सहभागी गराउन वडा तहसम्म खोप समन्वय समिति गठन गरिएको निर्देशक झाले जानकारी दिए ।
हालसम्म प्रदेशका सबै जिल्लामा खोप पुगिसकेकोले चैत २५ गते बृहत कार्यक्रमको आयोजना गरी अभियानको शुभारम्भ गरिने छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।