सगरमाथा आरोहणका लागि गायक लामा र अभिनेत्री पुनलाई मन्त्री आलेले गरे बिदाइ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि जान लागेका मंगोलियन हार्टका गायक राजु लामा र अभिनेत्री दिया पुनलाई बिदाइ गरेका छन् ।

मन्त्रालयमा आयोजना गरिएको एक कार्यक्रममा मन्त्री आलेले लामा र पुनलाई नेपालको राष्ट्रिय झण्डा प्रदान गरेर बिदाइ तथा आरोहणको शुभकामना दिएका हुन् । 

मन्त्री आलेले सगरमाथा आरोहण गर्न लागेका गायक लामा र अभिनेत्री पुनलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनले भने, ‘सतर्कता र सावधानीपूर्वक हिमाल चढ्नुहोला, आवश्यक पर्ने सहयोग भन्नुहोला हामी सहयोग गर्न तयार छौँ ।’

जलवायु परिवर्तनले ल्याएको असरको सन्देश दिन गायक लामा र नायिका दियाले हिमाल आरोहण गर्न लागेको बताए । 

यसैगरी मन्त्री आलेले लामा र पुनलाई शुभकामना पत्रसहित झण्डा हस्तान्तरणसमेत गरेका थिए । गायक लामाले सगरमाथा आरोहणसहित ६ हजार ५०० मिटर उचाइको क्याम्प २ मा वैशाख दोस्रो साता सांगीतिक कार्यक्रमसमेत गर्ने बताए । 

उनले भने, ‘कार्बन उत्सर्जन घटाउनु, पर्यटन प्रवद्र्धन गर्न र संगीत तथा हिमालको नातालाई गाढा बनाउन मैले सगरमाथा आरोहण गर्न लागेको छु, विश्वको सबैभन्दा उच्चस्थानमा कन्सर्ट गरेर कीर्तिमान राख्ने योजना छ ।’



उनी चैत २७ गते सगरमाथातर्फ प्रस्थान गर्ने र अभिनेत्री पुन चैत २३ गते नै त्यसतर्फ लाग्ने कार्यक्रम तय भएको छ । जलवायु परिवर्तनले हिमालमा पारेको असर र विश्वमा नेपाली फिल्मको प्रचारप्रसार गर्ने उद्देश्यले अभिनेत्री पुनले हिमाल आरोहण गर्न लागेको जानकारी दिइन् ।  



  • प्रकाशित मिति : चैत २१, २०७८ साेमबार १८:५६:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया