नेपालको चर्चित एप हाम्रोपात्रोले रेमिटेन्स सेवा सुरु गरेको सात महिना पूरा भएको छ । ८ असोजदेखि सुरु भएको यो सेवामार्फत अहिलेका लागि अमेरिकामा रहेका नेपाली नागरिकले नेपालमा रकम पठाउन सक्छन् ।
अमेरिकी बैंकमा रहेको खाता तथा डेबिट कार्डबाट सहजै जुनसुकै नेपाली बैंकको खातामा रकम पठाउन सकिनेछ । यसअघि प्रतिव्यक्तिले ६ महिनामा अधिकतम ३० हजार अमेरिकी डलरसम्म पठाउन मिल्ने व्यवस्था थियो । अबदेखि भने यो बढेर १ लाख डलरसम्म पनि पठाउन मिल्ने व्यवस्था गरिएको छ । प्रति कारोबार सीमा १० हजार डलरमा नै राखिनेछ भने यो सुविधा टिएर ३ मा भएका प्रयोगकर्ताहरूमा लागू हुनेछ ।
पात्रोको रूपमा सुरु भएको हाम्रोपात्रोले आफ्नो प्रारम्भिक समयदेखि नै फोरक्स अर्थात विदेशी मुद्राको नेपाली विनिमय दर हेर्न सकिने सुविधा दिँदै आएको छ । अब एउटै एपमा विनिमय दर हेर्ने र रेमिटेन्स पठाउने सुविधा सँगसँगै उपलब्ध भएको छ । जुन विदेशबाट नेपालमा रकम पठाउने सबैभन्दा सहज विकल्पको रूपमा रहने हाम्रोपात्रोको विश्वास छ ।
‘तत्कालका लागि रेमिटेन्स पठाएको दुईदेखि तीन दिनमा नेपाली बैंकको खातामा रकम जम्मा हुने गरेकोमा अबको एक महिनाभित्र इन्स्टेन्ट पे को सुविधा उपलब्ध हुनेछ, जसअन्तर्गत रकम पठाएको केहि मिनेट मै नेपालको बैंक खातामा पैसा जम्मा हुनेछ,’ हाम्रो पात्रोको संस्थापक/सिईओ शंकर उप्रेतीले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।