नेपालको अर्थतन्त्र संकटोन्मुख : अर्थविद्

अर्थतन्त्र सुधारमा सरकारले उपेक्षा गरेको भन्दै अर्थविद्हरुले चिन्ता व्यक्त गरेका छन् । मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै अर्थविद्हरुले नेपालको अर्थतन्त्र संकटोन्मुख हुँदासमेत सरकारले उपेक्षा गरेको भन्दै चिन्ता जाहेर गरेका हुन् । 

अर्थविद् डा. डिल्लीराज खनालले नेपालमा अर्थतन्त्रका संकेत राम्रो नभएको र अर्थतन्त्र गम्भीर संकटतर्फ गइरहेको बताए । उनले सरकारले अहिलेबाट नै बढी सजग भएर नीति निर्माण गर्न आवश्यक रहेको पनि बताए । अर्थविद् खनालले नेपालको अर्थतन्त्रमा एकातिर अर्थतन्त्र ह्रासमूलक हुने, मन्दीतिर जाने हो कि भन्ने हुने, अर्कोतिर सधैँ आयात व्यापक रुपमा बढ्ने र मूल्यवृद्धि पनि व्यापक हुने किसिमको जटिल भ्रूण देखिएको बताए । 

अर्थविद्हरुले देशको अर्थतन्त्र गम्भीर रहेको कुरा बारम्बार भने पनि सरकारका जिम्मेवार व्यक्तिहरुले यसमा चासो नदिएको खनालको आरोप छ । जिम्मेवार पक्षले समेत अर्थतन्त्र सुधारमा चासो नदेखाउँदा श्रीलंकाको झल्को आएको बताए । 

त्यस्तै, अर्थविद् प्राध्यापक डा. विश्वम्भर प्याकुरेलले सरकारको रेमिट्यान्स कुन गतिमा गइरहेको छ भन्ने कुराको आकलन गर्न नै गाह्रो हुन थालेको बताए । उनले नेपालमा अहिले अर्थमन्त्रालय, योजना आयोग र राष्ट्र बैंकबीच समन्वय नभइरहेको भन्दै यी तीनै अंग एकै ठाउँमा उभिएर अर्थतन्त्र सुधारका लागि नयाँ नीति ल्याउनुपर्ने बताए । 

अर्थविद् प्याकुरेलले नेपालमा पनि राजनीतिक दलहरुमा परिवारवादलाई छोड्न नसकेकोले सानो भ्रष्टाचार मात्रै बाहिर आउने गरेको बताए । ठूला भ्रष्टाचारका मुद्दाहरुको सुनुवाइ नहुँदा अर्बौं रुपैयाँ फ्रिज भइरहेको उनले बताए । 

त्यस्तै, अर्थविद् डा. चन्द्रमणि अधिकारीले अहिले अर्थतन्त्रमा नेपाल परनिर्भर हुँदा यसको गम्भीर संकट देखिएको बताए । उनले भोलिको नेपालको अर्थतन्त्र कस्तो हुन्छ भन्ने कुराको अनुमान गर्न कठिन भइसकेको बताए । अर्थविद् अधिकारीले नेपालको अर्थतन्त्रमा पनि धेरै अनिश्चितता आइसकेको भन्दै यसको अग्रपंक्तिमा श्रीलंका देखापरेको बताए । 



अर्थविद् अधिकारीले राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र अन्य मन्त्रालयहरु मिलेर मौद्रिक नीतिबाट भएको नकारात्मक कुरालाई आर्थिक र वित्तीय नीतिबाट हस्तक्षेप गर्नुपर्ने सुझाब दिए । विदेशबाट आउने विप्रेषण किन घट्यो भन्ने कुरा पत्ता लगाउन जरुरी रहेको उनले बताए । 



  • प्रकाशित मिति : चैत २२, २०७८ मंगलबार १८:२८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया