नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जहाँ जसको शक्ति छ, उसैले निर्वाचनमा दाबी गर्ने बताएका छन् ।
मंगलबार कपिलवस्तुको शिवराज नगरपालिका–२ स्थित लुम्बिनी सिद्धार्थ रिसोर्टमा कार्यकर्तालाई हिन्दी भाषामा सम्बोधन गरेका नेपालले जुन क्षेत्रमा जसको पकड राम्रो छ, उसैले दाबी गर्ने बताए ।
‘यो क्षेत्रमा हामी बलिया छौँ । त्यसैले यहाँ हाम्रो दाबी रहनेछ,’ उनले भने । नेता नेपालले मंगलबार बिहान पाँच दलबीच निर्वाचनमा मिलेर लड्ने सामूहिक रूपमा संकल्प भएको बताए ।
उनले वृद्ध भत्ताको रकम बढाएर पाँच हजार पुर्याउने दाबीसमेत गरे । एमालेप्रति इंगित गर्दै अध्यक्ष नेपालले वृद्धभत्ता लागू गर्ने, विधवा महिला, एकल महिला, अपांगता भएकालाई भत्ता लागू गर्ने आफ्नो दल रहेको बताउँदै अरू नक्कली रहेको टिप्पणी गरे ।
कार्यक्रममा एकीकृत समाजवादीका सचिव भागवत विश्वासीले एमालेले जनतालाई घात गरेको आरोप लगाएका थिए । प्रतिनिधिसभा विघटन गर्ने केपी ओलीले संविधान मिचेर जनमतको अपमान गरेको उनको आरोप थियो ।
कार्यक्रममा स्थानीय नेता डा. मन्जुर खाँ, अब्दुल हक कार्यकर्तासहित एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । डा. खाँलाई स्थानीय निर्वाचनमा शिवराज नगरपालिकाको नगरप्रमुख पदमा टिकट दिने गरी प्रवेश गराएको स्रोतको दाबी छ । डा. खाँ २०६४ सालको संविधानसभा निर्वाचनमा तराई मधेस लोकतान्त्रिक पार्टीबाट निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।