भिआइपी सेक्युरिटीलाई महिला पत्रकारको प्रश्न– हामीमाथि हिंसा कहिलेसम्म ?
फरकधार / २२ चैत, २०७८

पछिल्लो समय देशमा राजनीतिक गतिविधि बढेका छन् । वैशाख ३० गते स्थानीय तहको निर्वाचन तोकिएपछि राजनीतिक दलका शीर्ष नेताहरु कार्यक्रमहरुमा निकै व्यस्त हुन थालेका छन् ।



राजनीतिक दलका शीर्ष नेताहरु कोही पूर्वप्रधानमन्त्री हुनुहुन्छ त कोही पहिले महत्त्वपूर्ण पदमा पुगिसक्नु भएकाहरु हुनुहुन्छ । अहिले राजनीतिक माहोलमा आफ्नो पार्टीको प्रभाव बढ्दै जाओस् भन्नका लागि दैनिक शिलान्यास र उद्घाटनका कार्यक्रमहरु पनि भइरहेका छन् ।

काठमाडौं उपत्यकाभित्र हुने यस्ता कार्यक्रमहरु समाचार बन्न लायक मानिन्छन्, हाम्रा न्युजरुमहरुमा । अनि ती कार्यक्रमका तस्वीर क्यामेरामा कैद गर्नु हुन्छ, हाम्रो जिम्मेवारी । न्युजरुमबाट हामीलाई यही पनि भनिन्छ, आफैं पनि यही काममा जानुपर्छ भन्ने हुन्छ ।

मंगलबार विहान पनि त्यस्तै भयो । बानेश्वर कार्यालयमा बसिरहेकी थिएँ, एक जना साथीको फोन आयो । प्रधानमन्त्री शेरबहादुर देउवाले चोभारमा रहेको सुख्खा बन्दरगाह उद्घाटन गर्ने कार्यक्रम रहेछ । दुई वर्ष पहिले यो बन्दरगाह बन्दा यसको चर्चा नेपालमा निकै चुलिएको थियो ।



काठमाडौं उपत्यकाबाट सबैभन्दा नजिकको यो बन्दरगाहले काठमाडौंको आर्थिक रुपान्तरणमा काम गर्छ भन्ने एउटा तर्क थियो भने अर्को तर्क थियो त्यहाँ बन्दरगाह बन्दा यसले त्यहाँको वातावरणीय क्षेत्रलाई पनि ठूलो हानी गर्छ पनि भनिएको थियो ।

जे होस्, अफिसमा नै रहँदा साथीको फोन आयो । म त्यो कार्यक्रममा जाने भएँ, मंगलबार अरु विशेष र औपचारिक कार्यक्रमहरु पनि खासै थिएनन् ।

म चोभार पुगेँ । चोभारमा हामी फोटो पत्रकारहरुले केहीबेर छलफल गर्यौँ, एउटा उपयुक्त ठाउँमा बस्ने भयौँ । त्यसको केही समयमा नै प्रधानमन्त्री देउवा आइ पुग्नै लागेको नजिकै बसेका एक सुरक्षाकर्मीको वाकीटकीमा सुनियो । म सतर्क हुन थालेँ ।

अरु नेताहरुको कार्यक्रममा भन्दा प्रधानमन्त्री देउवा उपस्थित हुने कार्यक्रमहरुमा मैले लामो समयदेखि भद्रगोल देख्दै आएकी छु । प्रधानमन्त्री देउवाले सार्वजनिक कार्यक्रमहरुमा खासै धेरै प्रतिक्रिया दिन रुचाउँदैनन्, कार्यक्रमहरु पनि छिटो छिटो सक्छन् । किन हो थाहा छैन, अरु नेताहरुभन्दा प्रधानमन्त्री देउवाका कार्यक्रमहरुमा पत्रकारहरुका लागि सहज हुनेगरि स्थान निर्धारण गरिएको पनि हुँदैन ।

चोभारमा प्रधानमन्त्री देउवा आइपुगे पछि उनको वरपर भीड हुन थाल्यो । सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति थियो । त्यो भीडमा अरुभन्दा सबैभन्दा बढी नै सुरक्षाकर्मीहरु देखिन्थे ।

हामीले कहिलेकाँही विदेशका प्रधानमन्त्रीका तस्वीरहरु देखिरहेका हुन्छौँ, राष्ट्रपतिका तस्वीरहरु देखिरहेका हुन्छौँ । त्यहाँका कसैको वरपर त्यति धेरै सुरक्षाकर्मी मैले खासै नोटिस गरेको छैन । हो, केही वर्षअघि तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनको सिंगापुरमा भएको ऐतिहासिक भेटघाटमा किमको सुरक्षाको प्रबन्धको चर्चा राम्रो भएको थियो ।

सिएनएन, बिबिसी तथा अरु सञ्चारमाध्यममा त्यसको तस्वीर र भिडियो भाइरल भएको थियो । किमको यो सुरक्षाको प्रसंग मैले किन निकालेको भन्दा उनलाई सुरक्षा दिँदादिँदै पनि पत्रकारहरुका लागि त्यहाँ सहज व्यवस्थापन थियो, निश्चित स्थानहरु तोकिएका थिए । भीडभाडमा हेलिँदै र ठोक्किँदै सम्भवतः सायदै विश्वका अरु देशमा तस्वीर र भिडियो लिन्छन् ।

प्रधानमन्त्रीजस्तो देशको कार्यकारी प्रमुख सहभागी हुने कार्यक्रमहरुको व्यवस्थापन नेपालमा मात्र होला यस्तो भद्रगोल हुने । कम्तिमा मंगलबार चोभारको सुख्खा बन्दरगाहमा मैले यस्तै अनुभव गरेँ ।

प्रधानमन्त्री त्यहाँ पुगेको केही समयमा नै शिलान्यास कार्यक्रम सुरु भयो । प्रधानमन्त्री देउवाले निमेषभरमा नै त्यो ‘खास शिलान्यास’ पूरा गरे । हामीलाई हत्ते भयो, क्यामेरामा सही एंगलबाट तस्वीर नखिचिएला कि भन्ने ।

त्यहाँ प्रधानमन्त्रीको सुरक्षाको नाममा र शिलान्यासको अवसर भएकाले हुनुपर्छ, भीड यति थियो कि प्रधानमन्त्रीलाई क्यामेरामा कैद गर्न हम्मे हम्मे भयो ।

आज कतिसम्म भयो भने हामी फोटो पत्रकारहरुलाई प्रधानमन्त्री देउवाका सेक्युरिटीमा खटिएका सुरक्षाकर्मीले धकेलाधकेलसमेत गरे ।

त्यहाँ फोटो खिच्नका लागि पुरुष फोटोग्राफर मात्र थिएनन्, हामी महिला फोटो पत्रकार पनि थियौँ । मलाई एक सुरक्षाकर्मीले जसरी धकेले, त्यो सह्य भएन । एकपटक होइन, फेरि फेरि पनि मलाई यस्तै भयो, बारम्बार ‘सेक्युरिटी पर्सनल’ले मलाई जसरी धकेले त्यसले मलाई असहज महसुस भयो ।

मलाई कतिसम्म अप्ठ्यारो भयो भने मैले चर्को स्वरमा कराएँ पनि– किन छातीमा हात राखेर धकेलेको ?

मलाई जसले त्यसरी धकेलिरहेका थिए, उनको अनुहार ‘रातो भएको’ म आफैंले पनि महसुस गरेँ । अर्को एउटा सेक्युरिटी पर्सनललाई मैले प्रश्न नै सोधेँ– किन तपाईंहरु यस्तो गर्नुहुन्छ ।

मलाई अप्ठ्यारो र असहज महसुस भइसकेको थियो, मैले उनले के जवाफ दिए भन्नेमा धेरै ध्यान दिइनँ । फेरि प्रधानमन्त्रीलाई क्यामेरामा कैद गर्नु पनि त थियो ।

तर, यो कुरा मेरो मनमा चोभारको कार्यक्रमस्थलबाट फर्किएर बानेश्वरस्थित अफिसमा आइपुग्दासमेत चलिरह्यो । नेपालमा अहिलेसम्म महिला पत्रकारको उपस्थिति न्यून छ भनिँदै आइन्छ । त्यसमाथि फोटो पत्रकारितामा महिला पत्रकारहरु औंलामा गन्न सकिने छौँ ।

के थाहा हिजो, कोही महिला पत्रकारितामा छिर्दानछिर्दै यस्तै तितो अनुभव लिएर बाहिरिनु परेको पो थियो कि ? के थाहा नेपाली पत्रकारितामा एउटा महिला पत्रकारका लागि सधैं यस्तै अवस्था रहिरहने हो कि ? जे होस्, प्रश्न जन्मिएको छ– भिआइपीको सुरक्षाको नाममा महिलामाथि हिंसा किन ?

  • प्रकाशित मिति : चैत २२, २०७८ मंगलबार २०:४:३६,   अन्तिम अपडेट : चैत २४, २०७८ बिहीबार ११:४१:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया