सरकारको उधारो आश्वासन मान्दैनौँ : महन्थ ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले सरकारको उधारो आश्वासन नमान्ने भन्दै नगदमै कार्यान्वयनको माग गरेका छन् । 

मंगलबार नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित पाल्हिनन्दन–५ गेरमीमा पार्टीको जिल्ला समितिले आयोजना गरेको जनसभामा उनले सरकारसँग भएका सम्झौता कार्यान्वयन गर्न माग गरे । ‘हाम्रा माग सम्बोधनका लागि सबै प्रधानमन्त्रीसँग सम्झौता भएको छ, वर्तमान सरकारसँग पनि सम्झौता कार्यान्वयनका लागि कुरा भइरहेको छ,’ उनले भने, ‘सकारात्मक जवाफको प्रतीक्षामा छौँ, उधारो आश्वासन मान्दैनौँ ।’

मधेस आन्दोलनका क्रममा आफ्ना धेरै कार्यकर्तालाई झुटा मुद्दा लगाइएको उनले बताए । एमाले अध्यक्ष्ँ केपी शर्मा ओली प्रधानमन्त्री हुँदा १३९ जना रिहा भएको स्मरण गर्दै उनले भने, ‘बाँकीलाई पनि विनाशर्त रिहा गर्नुपर्छ, सम्झौता कार्यान्वयन नभएसम्म संघर्ष जारी रहन्छ ।’ 

लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरिएकोमा असन्तुष्टि जनाउँदै नेता ठाकुरले नागरिकता नहुँदा मधेसका हजारौँ नागरिकले समस्या भोगिरहेको बताए । उनले नागरिकता विधेयक छिटो अघि बढाउन सरकारसँग माग गरे । 

सोही पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले मधेस र मधेसी नागरिकमाथि अझै पनि भेदभाव रहेको भन्दै मधेसका अधिकार प्राप्त नभएसम्म संघर्ष जारी राख्नुको विकल्प नभएको बताए ।





  • प्रकाशित मिति : चैत २२, २०७८ मंगलबार २०:५५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया