राजनीतिप्रति शिक्षक मोह : स्थानीय निर्वाचन नजिकिएसँगै राजीनामा दिने बढे

स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै उम्मेदवार बन्न चाहने शिक्षक तथा निजामति कर्मचारी पेसाबाटै अलग हुन थालेका छन् । ३० वैशाखमा हुन लागेको स्थानीय चुनावमा टिकट पाउने सम्भावना बढेपछि उनीहरू पेसा परिवर्तन गर्ने मुडमा पुगेका हुन् । 

पछिल्लो एक सातामा बझाङमा तीनजना शिक्षकले पेसाबाट राजीनामा दिएका छन् । नेपाल शिक्षक महासंघ जिल्ला समिति बझाङका अध्यक्ष विनोद थापाले ३० वर्षसम्म विद्यार्थीलाई पढाए । जिल्लाको भैरव माध्यमिक विद्यालय झोतामा लामो समय प्राध्यापन गरेका उनी अबदेखि भने राजनीति मात्र गर्ने योजनामा छन् । जसकारण थापाले वर्षौंदेखि आवद्ध शिक्षण पेसा त्यागे ।  

यसअघि उनी नेकपा एमालेनिकट संगठनमा रहेर अप्रत्यक्ष रूपमा राजनीतिमा सक्रिय थिए । जयपृथ्वी नगरपालिकाको उपप्रमुखको टिकट पाउने संकेत पाएपछि जयन्ती जोशीले पनि शिक्षण पेसाबाट राजीनामा दिएकी छन् । 

जयपृथ्वी नगरपालिका–४ को बालविकास माध्यमिक विद्यालयमा लामो समय प्राध्यापन गर्दै आएकी उनले यही १५ असोजमा राजीनामा दिएकी हुन् । जोशी नगरपालिकाको उपप्रमुखको टिकटका लागि नेताहरूसँगको छलफललाई तीव्रता दिइरहेकी छन् । उनी नेपाली कांग्रेसको प्रदेश कार्य समिति सदस्यसमेत हुन् ।

अर्का शिक्षक अग्निराज जोशीले पनि लामो समय अध्यापन गरे । जिल्लाको मष्टा गाउँपालिकाको कुलमष्टा माध्यमिक विद्यालयमा लामो समय पढाएका उनले यसपालि भने पेसाबाट राजीनामा दिएका जिल्ला शिक्षा विकास तथा समन्वय इकाई बझाङका सूचना अधिकारी बसन्तबहादुर सिंहले जानकारी दिए । 

जोशी पनि आसन्न निर्वाचनमा पालिकाको उम्मेदवार बन्ने चर्चा छ । यद्यपि उनी खुलेर भने राजनीतिमा आइसकेका छैनन् । शिक्षा मन्त्रालयअन्तर्गत शिक्षक किताब खानाकाअनुसार चुनावको मिति नजिकिएसँगै राजीनामा दिने शिक्षकको संख्या बढ्दै आएको छ । गत आर्थिक वर्षमा ७ सय ९७ जना शिक्षकले राजीनामा दिएकामा चालू आर्थिक वर्षको ६ महिना (पुस) सम्म १ हजार २५ जनाले राजीनामा दिएका छन् । 





  • प्रकाशित मिति : चैत २३, २०७८ बुधबार ११:४२:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया