जलश्रोतको सही उपयोग गर्न सक्नु तत्कालको आवश्यक्ता : मन्त्री भुसाल

ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले जलश्रोतको सही उपयोग गरेर आर्थिक तथा सामाजिक विकासलाई उठाउनु तत्कालको आवश्यक्ता भएको बताएकी छन् । बुधबार ललितपुरमा आयोजित पानी, उर्जा, खाद्य तथा परिस्थितिकीय प्रणालीजन्य बहुआयामिक फाइदाहरूको प्राप्ति विषयक कार्यक्रममा मन्त्री भुसालले यस्तो बताएकी हुन् । 

उनले जलवायु परिवर्तनका कारण नेपालमा कृषि, वन, स्वास्थ्य, जैविक विविधता लगायतका विभिन्न क्षेत्रमा समस्या परिरहेको बताइन् । मन्त्री भुसालले जलवायु परिवर्तनको असरले हिमनदी, अतिवृष्टि, अनावृष्टि, अल्पवृष्टि जस्ता प्राकृतिक प्रकोपले समग्र क्षेत्रलाई असर पारिरहेको बताइन् ।  

‘जलश्रोतको उचित व्यवस्थापन गर्नु हाम्रो आवश्यक्ता हो । जलश्रोतको सही उपयोग गरेर हाम्रो आर्थिक तथा सामाजिक विकासलाई उठाउनु हाम्रो तत्कालको आवश्यक्ता हो । यद्यपि जलश्रोत व्यवस्थापनमा धेरै चुनौतीहरू छन् । ८० प्रतिशतभन्दा बढी पानी वर्षातको बेलामा मात्र उपलब्ध हुने भएकोले बाढी, पहिरो जस्ता विपत्तिसँग पनि लडिरहेका छौँ,’ उनले भनिन्, ‘हाम्रो ठूलो आर्थिक श्रोत क्षति हुँदै आएको छ । त्यसैगरी अन्य समयमा नेपालको धेरै क्षेत्रमा खडेरीको समस्या पनि हुने गरेको छ । त्यतिमात्र होइन, हाम्रो हिमाली देश नेपालमा कृषि, वन, स्वास्थ्य, जैविक विविधता लगायतका विभिन्न क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव परेको छ ।’

उनले अगाडि भनिन्, ‘खानेपानी, सिंचाइ र विद्युत उत्पादनका लागि पनि सुक्खा याममा पानीको अभाव हुँदै आइरहेको छ । जलवायु परिवर्तनको असरले हिमनदीहरू पग्लिरहेका छन्, अतिवृष्टि, अनावृष्टि, अल्पवृष्टि जस्ता प्राकृतिक प्रकोपले समग्र क्षेत्रलाई असर पारेको छ । प्राकृतिक जोखिम कम गर्न र जलवायु परिवर्तनप्रति लचकता बढाउनको दृष्टिकोणले पनि पानी, उर्जा र खाद्यान्नको बढ्दो मागलाई सम्बोधन गर्ने गरी दिगो र एकीकृत दृष्टिकोण आवश्यक पर्दछ । नेपालमा जलविद्युतको प्रचुर सम्भावना भए पनि सके जति विद्युत उत्पादन गर्न सकिएको छैन ।’ 

मन्त्री भुसालले भूमिगत जलश्रोतलाई दिगो रूपमा प्रयोग गरेर तराईको जमिन सिञ्चित गर्न सके त्यसले सामाजिक तथा आर्थिक विकासमा ठूलो योगदान गर्ने पनि विश्वास व्यक्त गरिन् ।  





  • प्रकाशित मिति : चैत २३, २०७८ बुधबार १३:३३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया