कविता हत्या प्रकरण : दाेषीलाई सार्वजनिक नगरेसम्म शव नबुझ्ने परिवारकाे अडान

ट्युसन पढ्न विद्यालय जाँदै गरेकी कविता सुनुवारकाे हत्यामा संलग्नहरूलाई सार्वजनिक गर्न पीडित परिवारले माग गरेकाे छ ।

उदयपुरको बेलका नगरपालिका-३ स्थित कोशी जनता माध्यमिक विद्यालय रामपुरको कक्षा १० मा अध्ययनरत १६ वर्षीया सुनुवारको शव मंगलबार स्थानीय यशाेदाखोलामा विभत्स रूपमा हत्या गरिएकाे अवस्थामा फेला परेकाे थियो । 

शव फेला परेकाे २४ घन्टा बितिसक्दा पनि परिवारले जिम्मा लिएका छैनन् । उनीहरूले घटनामा संलग्नलाई सार्वजनिक नगरेसम्म शव जिम्मा नलिने अडान लिएका छन् ।

हत्या आशंकामा प्रहरीले उनकै केही सहपाठीलाई नियन्त्रणमा लिएकाे छ । 

हत्याको विरोधमा बुधबार बिहानैदेखि मदन भण्डारी लोकमार्ग स्थानीयवासी तथा विद्यार्थीले अवरुद्ध पारेका छन् । 

उनीहरूले हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्नु पर्ने र उनीहरूलाई सार्वजनिक गर्नुपर्ने पनि माग गरेका छन्  ।



कोशी जनता माध्यमिक विद्यालय रामपुरका विद्यार्थीहरू आन्दोलित भएका हुन् । उनीहरूले रामपुर, लालबजार, बुद्धचोकमा प्रर्दशन गरिरहेका छन् । 

सुनुवारको हत्या आशंकामा सोही ठाउँ बस्दै आएका कक्षा १० मा पढ्दै गरेकी सहपाठी एक किशोरी र किशाेरलाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले नियन्त्रणमा लिएको छ ।



पक्राउ पर्नेमा भारत सिक्किम राज्य बियुङ स्थायी घर भई बेलका नगरपालिका-३ स्थित जितबहादुर ढकाल (खत्री)को घरमा बस्दै आएका १९ वर्षीय विनोद ढकाल र जितबहादुरकै १५ वर्षीया छोरी सरिता ढकाल (खत्री) रहेको प्रहरीले जनाएको छ ।

बेलका नगरपालिका-६ किराँत चोकका कृष्ण सुनुवारकी छोरी कविता मृत अवस्थामा भेटिएको जानकारी पाएलगतै इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

नियन्त्रणमा लिएका दुवै जनालाई उदयपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको छ । 

घटनास्थल विद्यालयदेखि करिब सात सय मिटर र घरबाट करिब दुई किलोमिटर पर रहेको स्थानीयवासीले बताए । 

उनलाई बियरको बोतल र ढुंगाले हिर्काएर हत्या गरिएको हुनसक्ने अनुमान गरिएको छ । 

घटनास्थलबाट बियरका बोतर र रगत लागेको ढुंगा बरामद भएकाे छ । मृतक किशाेरीको टाउकोमा गहिराे चोट लागेकाले कुटपिटपछि हत्या गरेको हुन सक्ने प्रहरीकाे अनुमान छ । 

उनी अध्ययनरत विद्यालयले बुधवार शोक सभा आयोजना गरेको छ।  

 


 

  • प्रकाशित मिति : चैत २३, २०७८ बुधबार १४:२८:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया