मुलुकलाई समृद्ध राष्ट्र बनाउन एकताबद्ध प्रयास आवश्यक : माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले मुलुकलाई समृद्ध राष्ट्र बनाउन एकताबद्ध प्रयास आवश्यक भएको बताएका छन् । 

मैथिली विकास कोषको आयोजनामा बुधबारदेखि जनकपुरधाममा सुरु भएको ‘जनकपुर साहित्य, कला तथा नाट्य महोत्सव’को उद्घाटन गर्दै नेपालले मैथिली भाषा तथा संस्कृतिको इतिहास ५ हजार वर्ष पुरानो भएकाले यसको विकासका लागि यस्ता प्रकारको महोत्सव महत्त्वपूर्ण भएको बताए ।

अध्यक्ष नेपालले आफू प्रधानमन्त्री भएको बेलामा नै विद्यापति कोषको स्थापना गरेको बताउँदै मुलुकको विविधतालाई सही किसिमले व्यवस्थापन गर्न आवश्यक रहेको कुरामाथिसमेत जोड दिए ।

कार्यक्रममा बोल्दै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले चाँडै भाषा, साहित्य तथा संस्कृतिको विकास एवं संरक्षणका लागि मधेस प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने बताए ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री नेपालले मैथिली विकास कोषले प्रदान गर्दै आएको डा. धीरेन्द्र साहित्य संस्कृति पुरस्कार २०७७ भाषा वैज्ञानिक डा. रामअवतार यादव र सलहेश सांस्कृतिक पुरस्कार २०७७ डा. आभास लाभलाई प्रदान गरेका छन् ।

त्यस्तै, डा. धीरेन्द्र साहित्य संस्कृति पुरस्कार २०७८ साहित्यकार महेन्द्र मिश्र र सलहेश सांस्कृतिक पुरस्कार २०७८ गायक रामा मण्डललाई प्रदान गरिएको छ । दुवै पुरस्कारको राशि ५१ हजार नगद, सम्मान पत्र तथा दोसल्ला रहेका छन् ।



मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतो, महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंह, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रदेश अध्यक्ष जितेन्द्र सोनल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, योजना आयोगका सदस्य डा. सुरेन्द्र लाभ, जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहलगायतका वक्ताले आ–आफ्नो धारणा राखेका थिए । 

मिथिलाको साहित्यबाट राष्ट्रलाई परिचित गराउने, आधुनिक तथा मौलिक कला रुपको प्रदर्शन तथा विमर्श, साहित्यकला र कलाकारको प्रवर्द्धन एवं पर्यटन प्रवर्द्धन तथा देशी–विदेशी पर्यटकलाई आकर्षित गर्न सक्ने सम्भावनाको खोजी गर्ने मूल उद्देश्यका साथ महोत्सव आयोजना गरिएको अध्यक्ष चौधरीले बताए । 



महोत्सवमा नाटक प्रदर्शन, संगीत तथा नृत्य प्रदर्शन, मैथिली चित्रकला तथा हस्तकलाको प्रदर्शनी, पुस्तक प्रदर्शनी र एक दर्जन भन्दा बढी विभिन्न विषयहरुमा विमर्श गर्ने गरिएको उनले जानकारी दिए ।

  • प्रकाशित मिति : चैत २३, २०७८ बुधबार २१:३५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया