हेलम्बु कांग्रेसलाई ‘धक्का’ : पूर्वसभापति तामाङले छाडे पार्टी, प्रचण्डले गरे स्वागत
माओवादी प्रवेश गराउन पूर्वमन्त्री दुलालको सक्रियता

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका नेपाली कांग्रेस पूर्वसभापति विजयसिंह तामाङ माओवादी केन्द्र प्रवेश गरेका छन् । पार्टीमा व्यक्तिवाद र निरंकुशता हाबी भएको भन्दै तामाङ शुक्रबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुलमटार पुगेर माओवादी प्रवेश गरेका हुन् । 

उनलाई माओवादी अध्यक्ष प्रचण्ड, बागमती प्रदेशका पूर्वमन्त्री युवराज दुलाल, बागमती प्रदेश कमिटी सदस्य भरत थापालगायतले माओवादीमा स्वागत गरे । तामाङसहित साङे दोङ, पाल्देन तामाङलगायत कार्यकर्ता पनि अन्य पार्टी परित्याग गरेर माओवादी प्रवेश गरे छन् । 

गत १५ चैतमा पनि प्रचण्डले पार्टी कार्यालय पेरिसडाँडामा हेलम्बुका युवा नेता कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराएका थिए । पार्टी प्रवेशमा प्रचण्डले युवाको आकर्षण बढेको हेलम्बुका युवाले सही निर्णय लिएको बताएका थिए ।

पार्टीमा युवाकाे आकर्षण बढ्दो छ, यसपटक निर्वाचनकाे नतिजा सुल्ट्याइन्छ : प्रचण्ड

दुलालको सक्रियता

स्थानीय निर्वाचनको मिति नजिकिँदै जाँदा सिन्धुपाल्चोकमा केन्द्रसम्म प्रभाव पर्नेगरी नेता कार्यकर्ताहरू दलबदल गरिरहेका छन् । यसैक्रममा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का प्रदेशसभा सदस्यसमेत रहेका दुलाल धमाधम जिल्लामा प्रभाव पार्नसक्ने अर्को दलका नेता/कार्यकर्तालाई खुमलटार पुर्‍याउँदै पार्टी प्रवेश गराइरहेका छन् । 



गत १८ चैतमा पनि उनले एमाले जिल्ला कमिटी सदस्य दिलिपराज गिरीलाई पार्टी प्रवेशका लागि खुमलटार पुर्‍याएका थिए । दुलाल प्रचण्ड परिवारसँग नजिकका मानिन्छन् ।

प्रचण्डको अंगरक्षकका रूपमा समेत काम गरेका दुलाल जनयुद्धदेखि नै माओवादी आन्दोलनसँग जोडिएका कुशल योद्धाका रूपमा पनि परिचित छन् । ०७४ सालको निर्वाचनमा नेपाली कांग्रेससँगको पेचिलो प्रतिस्पर्धामा विजयी भएर प्रदेशसभा छिरेका उनले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पनि सम्हाले ।



केन्द्रमा अध्यक्ष प्रचण्डको राम्रो साथ पाएका दुलाल आफू निर्वाचित क्षेत्रका प्राय गतिविधिमा सामेल भइरहेकै हुन्छन् । पछिल्लो समय निर्वाचनलाई केन्द्रमा राखेर जिल्लाका विभिन्न क्षेत्रमा दुलाल सक्रिय छन् ।

पूर्वसांसद र गाउँपालिका अध्यक्षपछि एमाले सिन्धुपाल्चाेकका जिल्ला सदस्यले छाडे पार्टी

हेलम्बु : जसलाई कांग्रेसको ‘गढ’ मानिन्छ

हेलम्बु गाउँपालिकालाई नेपाली कांग्रेसको ‘गढ’ क्षेत्रका रूपमा लिन्छन्, सिन्धुपाल्चोक कांग्रेसका नेताहरू । यहाँ ०७४ को निर्वाचनमा पनि कांग्रेसले जितेको थियो । साे निर्वाचनमा हेलम्बु गाउँपालिका अध्यक्षमा निमा ग्याल्जेन शेर्पा विजयी भएका थिए । 

शेर्पा ४९४५ मत ल्याई विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का हस्त पण्डितले ३२१३ मत प्राप्त गरे । उपप्रमुख पनि कांग्रेसले नै हात पारेको थियो । उपप्रमुखमा काँग्रेसकी कोपिला पण्डितले ४५०२ मत प्राप्त गरी विजयी हुँदा प्रतिद्वन्द्वी एमालेका निमा जाङ्मु शेर्पाले ३२८६ मत पाइन् । 

हेलम्बुको वडा नं १,३,४,५,६ र ७ मा काँग्रेस उम्मेदवार क्रमशः मिङमार तामाङ, छिरिङ ह्योल्मो, राजकुमार लामिछाने, हर्कबहादुर तामाङ, सुकुराम तामाङ र खेतनाथ घिमिरे प्यानलसहित विजयी भएका थिए । वडा नं. २ मा एमालेका छिरिङ ग्याल्बो प्यानलसहित विजयी भए ।

फराकिलो मतान्तरले अध्यक्ष, उपाध्यक्षसहित ६ वटा वडामा जित निकालेको कांग्रेस हेलम्बुमा बलियो मानिन्छ । जिल्लाको १२ वटा स्थानीय तहमध्ये कांग्रेसले ३ वटा गाउँपालिकामा मात्र जित निकालेको थियो ।

महत्वपूर्ण मानिएको तीन नगरपालिकामा भने कांग्रेस पराजित भयो । इन्द्रावती, सुनकोशी र हेलम्बुमा निकालेको जितले पनि गाउँपालिका कांग्रेसको ‘पकड’ क्षेत्रको रूपमा अहिले पनि हेरिन्छ । 

सिन्धुपाल्चोकको चुनावी चित्र फेरिँदै

हेलम्बु कांग्रेसका पूर्वसभापति तामाङले माओवादी प्रवेश गर्दै कांग्रेसमा ‘व्यक्तिवाद’ हाबी भएको आरोप लगाएका छन् । यसअघि एमाले छाडेर कांग्रेस प्रवेश गरेका सोही जिल्लाका अध्यक्ष केदार क्षेत्रीले एमाले नेतृत्वप्रति यस्तै आरोप लगाएका थिए । त्यस्तै, एमाले छाडेर समाजवादीमा लागेका पूर्वसांसद सुवास कर्माचार्यले पनि पार्टीमा इमानदार कार्यकर्ताको मूल्याङ्कन नभएको बताएका थिए । 

त्यसो त, दलबदलका क्रममा नेताहरूले दिएका यस्ता भाषणले स्थानीय निर्वाचनको मत प्रभावित गर्न उल्लेख्य प्रभाव खेल्ने छन् । सिन्धुपाल्चोकका ३ क्षेत्रमा ३ वटै शीर्ष दलहरुले आ–आफ्नो ‘पकड’ क्षेत्रको रूपमा लिन्छन् । 

तर, सिन्धुपाल्चोक भने ३ ‘हेबिवेट’ नेताहरू शेरबहादुर तामाङ, अग्निप्रसाद सापकोटा र मोहन बहादुर बस्नेतका कारण पनि चर्चामा आइरहेका हुन्छन् । माओवादीमा सापकोटासँग सँगै केन्द्रीय राजनीतिमा प्रभाव जमाएका नेताहरू दुलाल, माधव सापकोटा सुबोध, रामप्रसाद सापकोटा दिपशिखा, कृष्णप्रसाद सापकोटालगायत नेताहरू जित्नैपर्ने दबाबसहित फिल्डमा उत्रिएका छन ।

एमाले नेता सरेश नेपाल, कांग्रेस नेता वंशलाल तामाङ, जंगबहादुर तामाङलगायत पनि केन्द्रको राजनीतिमा प्रभाव जमाउनसक्ने नेताका रूपमा चिनिन्छन् ।

[स्थानीय निर्वाचन] सिन्धुपाल्चोकमा तीन शीर्ष नेतालाई आ-आफ्नै दुःख !

  • प्रकाशित मिति : चैत २५, २०७८ शुक्रबार १३:२९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया