नेकपा एमालेका नेता भीम रावलले राप्रपा नेपालले एमालेको चुनाव चिह्नमा स्थानीय तहको निर्वाचन लड्ने इच्छा देखाएकोप्रति आपत्ति जनाएका छन् ।
शुक्रबार राप्रपा नेपालका अध्यक्ष कमल थापाले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले एमालेको चुनाव चिह्न प्रयोग हुने सम्भावना बढेको बताएका थिए । साथै उनले आफ्ना कार्यकर्तालाई पनि एमालेलाई सहयोग गर्न निर्देशन दिएका थिए । उनले एमालेसँग तालमेल गर्ने विषयमा प्रारम्भिक चरणको छलफल भएको पनि खुलाएका थिए ।
राप्रपा नेपालका अध्यक्ष थापाले धारणाप्रति आपत्ति जनाउँदै एमाले नेता रावलले अब देशमा 'जबजमले' भन्ने सिद्धान्त बोकेको 'रामाले' भन्ने दल उत्पन्न हुनेभयो भन्दै व्यङ्ग्य गरेका छन् । उनले थापाको भनाइलाई 'छेपारो राजनीति'को संज्ञा दिँदै समाजवाद उन्मुख गणतन्त्र छिटै साकार हुन्छ कि क्या हो भन्दै उनले कटाक्ष गरेका छन् ।
'राप्रपा थापाले एमालेको सूर्य चिन्ह आगामी चुनाउमा दुई दलको साझा चिन्ह हुनसक्ने र कुरा भइरहेको भनेका छन् । उसो भए अब देशमा 'जबजमले' भन्ने सिद्धान्त बोकेको 'रामाले' भन्ने दल उत्पन्न हुनेभयो त ? धन्य हो! छेपारो राजनीतिको करामत? समाजवाद उन्मुख गणतन्त्र छिटै साकार हुन्छ कि क्या हो?' उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।