\
बैतडीको डिलाशैनी गाउँपालिकाको अध्यक्षमा सन्तोष प्रकाश जोशीले स्वतन्त्रबाट उम्मेदवारी दिने भएका छन् ।
आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालले उनको नाम सिफारिस नगरेपछि उनले स्वतन्त्रबाट उम्मेदवारी दिने तयारी गरेका हुन् ।
यही चैत २७ गते धामीगाउँमा कार्यक्रमको आयोजना गरेर अध्यक्ष पदको उम्मेदवारी घोषणा गर्ने जोशीले बताए ।
एमालेको युवा संगठन राष्ट्रिय युवा संघका केन्द्रीय सचिव तथा सुदूरपश्चिम अध्यक्ष जोशीले आफूले स्वतन्त्रबाट उम्मेदवारी दिने तयारी गरेको जानकारी दिए ।
उनले भने, ‘आम नेता कार्यकर्ताहरू मेरो पक्षमा रहेका बेला समेत माइन्युट गायब गरेर नाम सिफारिस नगरेपछि यो निणर्यमा पुगेको हुँ। मेरो उम्मेदवारी घोषणा हुन्छ ।’
पार्टीका सबै पदबाट राजीनामा दिएर उम्मेदवारी दिने निर्णय गरेका हुन् ।
यस्तै, उनले आफ्नो टिमका वडा अध्यक्षहरूको उम्मेदवारी चैत २९ मा घोषणा गर्ने र त्यसपछि सदस्यहरूको पनि उम्मेदवारी घोषणा गर्ने तयारी भएको बताए ।
एमाले डिलाशैनी गाउँ कमिटीले अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष उकेन्द्र बोहरा, गाउँपालिका प्रवक्ता अक्कल राना र प्रेमराज भट्टको नाम सिफारिस गरेको छ ।
गाउँपालिका कमिटीको बैठक बसेका बेला माइन्युट गायब गरेर आफ्नो नाम षडयन्त्रपूर्वक हटाएको जोशीले आरोप लगाएका छन् ।
पार्टी आम कार्यकर्ता र जनभावना विपरीत एमाले डिलाशैनीले निषेधको राजनीति गरेकाले आफूहरूले स्वतन्त्र उम्मेदवारी दिन लागेकाे जोशी पक्षले बताएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।