अर्थतन्त्र धराशायी भएको छैन : सहरी विकासमन्त्री झाँक्री

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नेपालको अर्थतन्त्र धराशायी नबनेको दाबी गरेकी छिन् । बजारमा हल्ला फैलिएजस्तो नेपालको अर्थतन्त्र धराशायी नबनेको उनले बताइन् । 

शनिबार काठमाडौं विद्युतीय व्यवसायी संघको १२औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले हल्ला फैलाएर बजारमा कृत्रिम अभाव सिर्जना गर्ने कार्य गलत भएको बताइन् ।  

‘बजारमा हल्ला फैलाइएजस्तो देशको अर्थतन्त्र धराशायी बनेको छैन,’ उनले भनिन्, ‘अर्थतन्त्रमा सामान्य चाप देखिनु नौलो कुरा होइन । नेपालको अर्थव्यवस्था हेरेर आत्तिइहाल्नुपर्ने अवस्था छैन ।’ 

मन्त्री झाँक्रीले सरकारका गम्भीर तथ्यांक र गोप्य सूचना चुहाउनु अपराध रहेको बताउँदै त्यस्ता सूचना चुहाउनेमाथि छानबिन गर्न जरुरी रहेको समेत बताइन् । खाडी मुलुकमा भएको कच्चा तेलको मूल्य वृद्धि र रसिया युक्रेनबीचको युद्धका केही बाछिटाहरू नेपालको अर्थतन्त्रमा देखिएको बताउँदै उनले यसबाट आत्तिन आवश्यक नरहेको बताइन् । 

अर्थतन्त्रमा आयात प्रतिस्थापन गर्न विद्युतीय सामग्रीको प्रयोग बढाउनुपर्नेमा जोड दिँदै उनले स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्नुपर्ने बताइन् । 

काठमाडौं विद्युतीय व्यवसायी संघका अध्यक्ष सरोजकुमार रेग्मीले बैंक तथा वित्तीय संस्थाले अनावश्यक ब्याजदर बढाएको बताउँदै ब्याजदर सुनिश्चितता र व्यवसायीलाई सहुलियत हुनुपर्ने माग गरे । नेपालमै विद्युतीय सामग्रीको गुणस्तर बढाउनुपर्नेमा समेत उनले जोड दिए । 





  • प्रकाशित मिति : चैत २६, २०७८ शनिबार १७:३८:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया