निर्वाचन नजिकिँदै गर्दा आक्रामक हुँदै नेपाल खेलकुद महासंघ, तेह्रथुममा अधिवेशन सम्पन्न

नेकपा एमाले निकट नेपाल खेलकुद महासंघले स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा आफ्ना गतिविधि तथा कार्यक्रमहरुलाई आक्रामक बनाउँदै लगेको छ । 

खेलकुद महासंघको केही समयअघि काठमाडौंमा भएको पहिले केन्द्रीय कमिटी बैठकले स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै धरमबहादुर लामाको संयोजकत्वमा १ हजारभन्दा बढी सदस्य रहने गरि निर्वाचन परिचालन समितिसमेत बनाउने घोषणा गरेको थियो ।

लामो समयदेखि सुस्त रहेको खेलकुद महासंघले पछिल्ला महिना आफ्ना गतिविधिलाई आक्रामक बनाउँदै लगेको हो । महासंघले ५ वैशाखभित्र सबै जिल्ला अधिवेशन सक्ने लक्ष्यसमेत लिएको छ । 

यही सन्दर्भमा महासंघको तेह्रथुम अधिवेशन सम्पन्न भएको छ । २५ चैतमा गरिएको अधिवेशनबाट प्रवीण शंकरको अध्यक्षतामा ४५ सदस्यीय कमिटी निर्वाचित भएको छ ।

जिल्ला कमिटी संयोजकसमेत रहेका शंकरको अध्यक्षतामा भएको अधिवेशनमा नेपाल खेलकुद महासंघका संयोजक पर्शुराम बस्नेतले विशेष सम्बोधन गरेका थिए ।

उनले तेह्रथुममा भएको अधिवेशनमा प्रदेश १ मा मात्र नभएर नेपालभर अब खेलकुदको क्षेत्रलाई अगाडि ल्याउन र थप समृद्ध बनाउन नेपाल खेलकुद महासंघ लाग्नु पर्ने बताएका थिए ।



‘देशलाई समृद्धिको यात्रामा लैजान खेलकुद महासंघको ठूलो भूमिका हुनेछ,’ उनले भने, ‘हाम्रो पार्टी नेकपा एमालेले लिएको देश समृद्ध बनाउने सपनामा मलजल गर्नु हाम्रो पनि कर्तव्य हो ।’ 

उनले आगामि स्थानीय तह निर्वाचनमा नेपाल खेलकुद महासंघको नेतृत्वले सक्षम नेतृत्व छान्न विवेकपूर्ण कदम चाल्नु पर्ने भन्दै नेकपा एमालेले लिएको संकल्पलाई पूरा गर्न आफ्नो भूमिका महत्त्वपूर्ण हुने पनि बताए ।



बस्नेतले समुन्नत समाजका लागि खेल क्षेत्रको विशेष पहिचान हुनु पर्ने भन्दै अब नेपाल खेलकुद महासंघ नेपाललाई विश्वमा परिचित बनाउने खेलाडी तथा खेल क्षेत्रका अधिकारीहरुलाई आफूहरुले विशेष प्रोत्साहन गर्दै जाने पनि बताएका छन् ।

तेह्रथुम अधिवेशनमा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य विजय सुब्बा, नेकपा एमाले केन्द्रीय कमिटी सदस्य विष्णुमाया विक, नेपाल खेलकुद महासंघ प्रदेश १ का अध्यक्ष राजकुमार थापा, म्याङलुङ नगरपालिका प्रमुख सन्जय तुम्बाहाम्फेलगायतले आआफ्ना धारणा राखेका थिए ।

  • प्रकाशित मिति : चैत २६, २०७८ शनिबार १९:२९:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया