बाजुरामा उम्मेदवार छान्न दलहरुलाई सकसः माओवादी र समाजवादी गठबन्धनकै आशामा

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको चुनावी सरगर्मी बढेको छ । चुनाव नजिकिएसँगै राजनीतिक दलहरुले उम्मेदवार चयनदेखि प्रचारका गतिविधिलाई व्यापकता दिए पनि आकांक्षी अनुहार नेताहरुको घरदैलोमा देखिने गरेका छन् ।

उनीहरु जनताको घरदैलोमा मत माग्नभन्दा टिकट माग्न नेताको घर दैलोमा पुग्न व्यस्त देखिएको पार्टी भित्रैबाट आरोप लाग्न थालेको छ । चुनावी प्रचारभन्दा नेताको पछि लाग्नेहरुको संख्या बाक्लो देखिएको छ ।

बाजुरामा दलहरुले पार्टीभित्रका आकांक्षीको नामावली संकलन गर्न प्रस्तावित नाम माग्दा एउटै पदमा २५ जनासम्मको उम्मेदवारी परेको पाइएको छ । जिल्लाका ६९ वडामध्ये एक दर्जनभन्दा बढी वडामा २० भन्दा बढीको उम्मेदवारी परेको छ । 

बढी संख्यामा कांग्रेस एमालेभित्रबाट उम्मेदवारी परेको छ । प्रमुखमा मात्र एउटै पालिकाभित्र एक दर्जनभन्दा बढीको उम्मेदवारी देखिएको छ । योग्यता क्षमता, जनसमर्थनभन्दा पनि महत्वाकांक्षा नै धेरै भएकोले उम्मेदवारको संख्या बढी देखिएको हो ।

बाजुराका नौवटै स्थानीय गठबन्धनको निर्णय कुरी बसेका कांग्रेस नेताबीच पनि सहजै सहमति हुने अवस्था छैन । एकल चुनावी मैदानमा जाँदासमेत सहज नेतृत्व छनोटमा कठिनाइ देखिएको कांग्रेसभित्र गठबन्धनका कारण थप असन्तुष्टि बढ्ने देखिएको छ । 

गौमूल र जगन्नाथ गाउँपालिकामा नेपाली कांग्रेसलाई उम्मेदवार छान्न सहज भए पनि, बुढीगंगा, बडिमालिका, त्रिवेणी नगरपालिका, हिमाली र खप्तड छेडेदह गाउँपालिकामा निकै सकस हुने देखिएको छ । आफूले नपाए र पार्टीले न्याय नगरे केही स्थानीय तहमा कांग्रेस नेताले बागी उम्मेदवारीको समेत आन्तरिक तयारी थालेका छन् ।



कांग्रेसले उम्मेदवार सहमतिमै छान्ने र जिल्लामा टुंगो नलागे प्रदेश पठाउने गृहकार्य गरे पनि प्रदेशको निर्णय समेत मान्न बाध्य नहुने चुनौती कांग्रेसकै नेताहरुले दिइरहेका छन् । उही व्यक्ति दोहोरिने, सेवा लिएर आएका र केही व्यक्तिको पहुँच भएका व्यक्तिलाई टिकट दिने कुरा स्वीकार नगर्ने कांग्रेसका एक नेताले बताएका छन् ।

नेकपा एमालेभित्र पनि उम्मेदवार छान्न सकस देखिएको छ । बुढीनन्दा नगरपालिकामा जनककुमार बोहरा एकल उम्मेदवार छन् भने बडिमालिका नगरपालिकामा पनि अमर खड्का एक्लो उम्मेदवार बन्ने निश्चित छ । तर, बुढीगंगा, स्वामिकात्र्तिक खापर, जगन्नाथ र त्रिवेणीमा बढी सकस देखिएको छ ।
 
त्यसैगरी, हिमाली, खप्तड छेडेदह र गौमूलमा पनि सर्वसम्मत उम्मेदवार छनोट हुने अवस्था देखिएको छैन । नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीले गठबन्धनको आशामा कुनै पालिकामा पनि उम्मेदवारको गृहकार्य गरेको छैन । एक्लै चुनाव लड्दा कुनै पालिकामा पनि चुनाव जित्न नसकिने निष्कर्षमा माओवादी र समाजवादी देखिएका छन् ।
 
केन्द्रीय गठबन्धनकै निर्देशन कार्यान्वयन हुनुपर्ने र राजनीतिक रुपमा दलीय सहअस्तित्व कायम गरेर भागबण्डा हुनुपर्नेमा माओवादी र समाजवादी देखिएका छन् । उनीहरुले जगन्नाथ र स्वामिकात्र्तिक खापर गाउँपालिकामा प्रमुख, बडिमालिका, बुढीनन्दा हिमाली, त्रिवेणी र खप्तड छेडेदहमा उपप्रमुखसहित वडा अध्यक्षको दाबी गरेका छन् । गठबन्धन भए झनै उम्मेदवार छान्न सकस हुने देखिएको छ ।



  • प्रकाशित मिति : चैत २६, २०७८ शनिबार १९:३४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया