इण्डियन प्रिमियर लिग (आइपिएल) मा साविक विजेता चेन्नई सुपर किंग्स (सिएसके) विरुद्ध सनराइजर्स हैदरावादसँग ८ विकेटले विजयी भएको छ । हैदराबादको यो पहिलो जित हो । उसले यसअघि लगातार दुई खेलमा हार बेहोरेको थियो ।
तेस्रो खेलमा चेन्नईले दिएको १५५ रनको लक्ष्य हैदराबादले १७.४ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । उसका लागि अविषेक शर्माले ७५ रनको उत्कृष्ट पारी खेले । ५० बलको सामना गरेका उनले पाँच चौका र तीन छ्क्का प्रहार गरे ।
राहुल त्रिपाठी ३९ रनका अविजित रहँदा कप्तान केन विलियमसनले ३२ रन जोडे । चेन्नईका लागि मुकेश चौधरी र ड्वेन ब्राभोले एक/एक विकेट हात पारे ।
यसअघि मुम्बईस्थित डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५४ रन बनाएको थियो । चेन्नईका लागि मोइन अलीले सर्वाधिक ४८ रनको योगदान दिए । ३५ बलको सामना गरेका उनले तीन चौका र दुई छक्का प्रहार गरे ।
कप्तान रविन्द्र जडेजाले २३, ऋतुराज गायकवाडले १६ र रोविन उथाप्पाले १५ रन जोडे । हैदराबादका लागि वासिङ्टन सुन्दर र टी नटराजनले दुई/दुई तथा भुवनेश्वर कुमार, मार्को जेनसन र एडेन मार्करमले एक/एक विकेट हात पारे ।
यो जितसँगै हैदराबाद अंक तालिकाको सातौँ स्थानमा उक्लिएको छ । चार खेल लगातार हार बेहोरेको अंकविहीन चेन्नई नवौँ स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।