प्रथम टी–२० मेयर कप क्रिकेटको उपाधि राजविराजलाई

मधेस प्रदेशको राजविराज सप्तरीले प्रथम टी–२० मेयर कप क्रिकेट प्रतियोगितामा उपाधि जितेको छ । उपाधि जितेको राजविराजले नगद १ लाख १ हजार तथा ट्रफी हात पारेको हो।

विराटनगर महानगरपालिकाको आयोजना तथा होराइजन क्रिकेट क्लबको सहकार्यमा विराटनगर–१९ मा रहेको झापा वैजनाथपुरको खेल मैदानमा आज भएको फाइनल खेलमा मधेस प्रदेशकै जनकपुर उपमहानगरपालिकालाई १० रनले पराजित गर्दै उपाधि जितेको हो । उपविजेता जनकपुरले ५१ हजार र ट्रफीमा चित्त बुझाउनुपरेको थियो ।

टस जितेर ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा ८ विकेट गुमाई ९७ रनको सामान्य स्कोर खडा गरेका थिए। राजविराजका लागि नेपालको अन्तर्राष्ट्रिय ब्याटर विवेक यादवले २१ बनाउँदा पूर्वअन्तर्राष्ट्रिय ब्याटर महबुब आलमले १४ रन, अभिषेक कार्कीले १३ रन र अमित यादवले ११ रन बनाए । 

जनकपुरका सुमन रायले ४ ओभरमा ९ रन दिएर ३ विकेट लिँदा सुजित मण्डल र रुपेश यादवले २–२ विकेट तथा विशाल सुस्लिङले १ विकेट लिए ।

९८ रनको सामान्य रनको लक्ष्य पाएको जनकपुरले पूरै २० ओभर खेल्दै ८७ रनमा सीमित भएको थियो । जनकपुरका लागि विशाल सुस्लिङले ३३ रन जोड्दा विक्रान्त यादवले अविजित १९ रन तथा अकबर अली र रञ्जित यादवले ११–११ रन जोडेका थिए । 

राजविराजका विकास दासले ३ विकेट लिँदा नेपाली राष्ट्रिय टोलीका खेलाडी विवेक यादवले २ विकेट र विश्व कीर्तिमानधारी बलर महबुब आलम १ विकेट लिएका थिए।



फाइनल खेलको म्यान अफ द फाइनल राजविराजका अलराउण्डर खेलाडी विवेक यादव घोषित भए । त्यस्तै, म्यान अफ द सिरिज जनकपुरका हरिशंकर साह घोषित भए । उनले नगद ११ हजार पुरस्कार पाए । 

उत्कृष्ट ब्याटर राजविराजका विकास दास र उत्कृष्ट बलर राजविराजकै अनिल यादव घोषित भए । उनीहरू दुवैजनाले नगद ५–५ हजार पुरस्कार प्रदान गरिएको थियो  ।



  • प्रकाशित मिति : चैत २६, २०७८ शनिबार २०:५७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया