पूर्वअर्थमन्त्री पौडेलकाे आराेप : सरकारले देशको अर्थतन्त्र ध्वस्त बनायो
फाइल फाेटाे

पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले सरकारले देशको अर्थतन्त्र ध्वस्त बनाएको आरोप लगाएका छन् । 

मुलुकको आर्थिक अवस्था इतिहासकै कमजोर अवस्थामा बनाएको उनको भनाइ छ ।

पूर्वअर्थमन्त्री पाैडेलले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे सरकारले देशको अर्थतन्त्र ट्र्याकमा ल्याएर यस सरकारलाई हस्तान्तरण गरेको तर याे सरकारले ध्वस्त बनाएकाे बताए । 

‘यो सरकारले सही नीति लिएर प्रभावकारी ढंगबाट अगाडि बढ्न चाहेको भए यो अवस्थामा आउने थिएन । आर्थिक अवस्था यस्तो हुने थिएन । पुरै अर्थतन्त्र ध्वस्त बनाइसक्यो । मुलुक श्रीलंका बन्ने अवस्थामा पुगिसक्यो’, पौडेलले भने । 

मुलुकको आर्थिक अवस्थाबारे पार्टीको धारणा सार्वजनिक कार्यक्रममा बोल्दै पौडेलले वर्तमान अर्थमन्त्री असफल र असक्षम देखिएको बताए । 

आफू असफल भएपछि राष्ट्र बैंकमा गभर्नरमाथि प्रहार गरेको उनको भनाइ छ । 



हरेक दृष्टिकोणले अब्बल भूमिकामा रहेका गभर्नरलाई सरकारका अवाञ्छित गतिविधि पूरा गर्न नदिएको अवस्थामा निलम्बन गरेको उनको दावी छ ।  

‘राष्ट्र बैंक एउटा स्वायत्त संस्था हो । मन्त्रीले आफ्नो अभिन्न अंगको रूपमा विकास गरे । राष्ट्र बैंकमाथि अर्थमन्त्रीले हस्तक्षेप गरे’, पौडेलले भने ।



अर्थमन्त्रीले मौद्रिक नीति ल्याउनको निमित्त गभर्नरलाई रोक लगाउने काम गरेको आरोप लगाउँदै उनले भने, ‘मुलुकको अर्थतन्त्र सुधारको काम गरिरहेका गभर्नरलाई आफ्नो सचिव र सह-सचिव जस्तो बनाए । उनले त्यसरी नै चलाउन खोजे ।’

वर्तमान सरकारकै कारण रेमिट्यान्स घटेको उनको भनाइ छ । 

‘अघिल्लो सरकारको पालामा विदेश जानेको संख्या घट्दा पनि ११ प्रतिशतले रेमिट्यान्स बढेको थियो । अहिले विदेश जानेको संख्या बढेको छ । तर, रेमिट्यान्स घटेको छ’, पौडेलले भने ।  

अर्थतन्त्र यस्तो अवस्थामा आउनुको पछाडि सरकारका नीतिहरू जिम्मेवार रहेको उनले आराेप लगाए ।

  • प्रकाशित मिति : चैत २७, २०७८ आइतबार १५:३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया