यी निरीह मन्त्री, जसले पद गएको  दुई दिनपछि मात्रै थाहा पाए

अहिलेको टेक्नोलोजीको जमानमा विश्वका जुनसुकै कुनामा भएको घटना छिनभरमै फैलिन्छ । सञ्चारमाध्यामले भन्दा पहिले नै सामाजिक सञ्जालमा भाइरल भइसक्छ । 

तर, सुदूरपश्चिम प्रदेशका एक निवर्तमान मन्त्रीले आफ्नो पद खोसिएको कुरा दुई दिनपछि मात्र थाहा पाएको दाबी गरेका छन् । आर्थिक मामिला मन्त्रालय सम्हालिरहेका कञ्चनपुरका प्रदेश सांसद तारा लामा तामाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिमण्डलमा हेरफेर भयो रे भन्ने सुनियो त !’

सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिमण्डल हेरफेर भएको आइतबार तेस्रो दिन हो । शुक्रबार कांग्रेसलाई प्रदेश सरकारमा सहभागी गराउन मन्त्रिमण्डल हेरफेर भएको थियो । त्यतिबेलासम्म मन्त्री पद सम्हालिरहेकाहरुलाई नै मन्त्रिमण्डल हेरफेर भएको जानकारी नभएको पाइएको छ ।

तामाङ २०७८ असोज १ गते चौथोपटक मन्त्रिपरिषद् गठन हुँदा आर्थिक मामिला मन्त्री बनेका थिए । शुक्रबार मन्त्रिमण्डल हेरफेर भएपछि उनले सम्हाल्दै आएको मन्त्रालयको जिम्मेवारी नेकपा एकीकृत समाजवादीका नेता प्रकाश रावलले पाएका छन् ।
 
एकीकृत समाजवादीले आफ्नो पार्टीबाट प्रदेश सरकारमा रहेका तीन मन्त्री र राज्यमन्त्रीलाई फिर्ता बोलाएको थियो । एकीकृत समाजवादीबाट मन्त्री रहेका आन्तरिक मामिलामन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, आर्थिक मामिलामन्त्री तामाङलाई फिर्ता बोलाइएको थियो । 

तर, पार्टीले कुनै छलफल नगरी आफूहरुलाई मन्त्रीबाट हटाएको तामाङले दाबी गरेका छन् । ‘हामीसँग पार्टीका नेताहरुले कुनै सल्लाह गरेका छैनन्,’ उनले भने, ‘सामाजिक सञ्जालमा मन्त्री पद गएको जानकारी पाएपछि त्यही कुरा लेखेको हुँ ।’





  • प्रकाशित मिति : चैत २७, २०७८ आइतबार १८:२६:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया