सरकारी गाडी बेवारिसे, भाडाको गाडीमा हुइँकिन्छन् गाउँपालिका अध्यक्ष

मुगु जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिकाको सरकारी गाडी गमगढीको न्युरोड बजारमा थन्किएको छ । सोरु गाउँपालिका अध्यक्ष लोकबहादुर शाही चढ्ने गरेको सरकारी गाडी न्युरोडको बजारमा थन्किएको हो । 

गाउँपालिकाले ३७ लाख रकममा खरिद गरेको भे१झ २७९ नम्बरको गाडी एक वर्षदेखि बीच रोडमै थन्किएको छ । तीन वर्षअघि गाउँपालिका अध्यक्ष शाहीलाई सवार गर्न खरिद गरेको गाडी बिग्रिएपछि मर्मतको लागि ल्याइएको थियो । मर्मत कार्य अगाडि नबढ्दा अहिले गमगढीको न्युरोडस्थित ढलमा गाडी थन्किएको बताइएको छ । 

लाखौँ मूल्य हालेर खरिद गरेको गाउँपालिकाको गाडी थन्क्याएर अध्यक्षलगायत गाउँपालिकाका कर्मचारी निजी जिप भाडामा लिएर गाउँपालिका केन्द्र पुग्ने गरेका छन् । उक्त गाडी मर्मत गर्न करिब २ लाख रुपैयाँ लाग्ने गाउँपालिकाले जनाएको छ । 

बजेट अभावमा गाडी बेवारिसे बनेको गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले जानकारी दिए । अन्य विषयमा लाखौं रकम खर्चिने, तर गाडी मर्मत गर्न दुई लाख पनि नछुट्याउनु गाउँपालिकाको लापरबाही भएको स्थानीयले बताएका छन् ।

आफ्नो गाडी कबाडी बनाएर जनप्रतिनिधि र कर्मचारी भने वर्षमा १०–१२ लाख रुपैयाँ खर्च गरी भाडाका गाडी चढ्ने गरेका छन् । यसरी जनप्रतिनिधिले सरकारी बजेटको चरम दुरुपयोग गरेको आरोप लाग्ने गरेको छ ।

पालिकाको केन्द्र सोरुकोटसम्म सडक पुगेपछि जनप्रतिनिधि र कर्मचारीको सुविधाका लागि गाडी खरिद गरेको गाउँपालिका अध्यक्ष शाहीले बताए । ‘गाडी मर्मतका लागि बजेट व्यवस्थापन गर्ने कार्य अगाडि बढेको छ,’ अध्यक्ष शाहीले भने, ‘अब छिट्टै मर्मत गरी हाम्रो कार्यकाल सकिनुअघि नै गाडी गाउँपालिकामा बुझाउनेछौँ ।’





  • प्रकाशित मिति : चैत २७, २०७८ आइतबार १९:४:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया