बेरुजु फर्स्याैटमा उत्कृष्टता हासिल हुनेगरी मिहिनेत गर्न मन्त्री खाँणकाे आग्रह
फाइल फाेटाे

गृहमन्त्री बालकृष्ण खाँणले बेरुजु फर्स्याैटमा उत्कृष्टता हासिल हुने गरी मिहिनेत गर्न नेपाल सरकारका सबै निकायलाई आह्वान गरेका छन् ।

सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक शैलेन्द्र खनालको बिदाइमा सोमबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्ताे आह्वान गरेका हुन्।

गृहमन्त्री खाँणले बेरुजु फर्स्याैटमा गम्भीर हुन र सबै आयव्ययलाई दुरुस्त गर्न पनि सम्बन्धित सबै निकायलाई सचेत गराए ।

उनले पूँजीगत खर्चको व्यवस्थापन गर्दै जनतालाई प्रतिफल दिनेगरी विकास, निर्माणको काममा तीव्रता दिन जरुरी रहेको पनि बताए । 

गृहमन्त्री खाँणले भने, ‘नेपाल सरकारका समग्र विभागहरूलाई बेरुजु फर्स्याैटमा गम्भीर हुन, बजेटलाई नियमसम्मत रूपमा खर्च गर्न र हरहिसाब दुरुस्त राख्नका साथै बेरुजु फर्स्याैटमा उत्कृष्टता हासिल गर्न मिहिनेत गर्नुस् भनेर आह्वान गर्न चाहन्छु । हामीकहाँ बजेट बनाउँदाखेरी पहिलो त्यो घाटाको बजेट बनाएकै हुन्छौं । चालू खर्च चाँहि बढेर जान्छ । पूँजीगत खर्च चाँहि हामीले गर्न सक्दैनौं । पूँजीगत खर्चतर्फ पनि हामी जिम्मेवार हुन जरुरी छ । किनकि भौतिक विकासले जनतालाई सबल बनाउँछ । विकास, निर्माणको प्रतिफल जनतामा पुर्‍याउँछ । त्यसकारणले गर्दाखेरी हामीले भौतिक क्षेत्रमा गरिने खर्चलाई पनि हामीले व्यवस्थित गर्न जरुरी छ । खर्च गर्न नसकेर बजेटनै ल्याप्स हुने अवस्था नआओस् ।’

गृहमन्त्री खाँणले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालले बेरुजु फर्स्याैट कार्यमा उत्कृष्टता हासिल गरेको भन्दै प्रशंसा समेत गरे ।



कार्यक्रममा बोल्दै महानिरीक्षक खनालले आफू सेवाबाट अवकाश प्राप्त भए पनि देश र जनताप्रति सदा उत्तरदायी भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।


 



  • प्रकाशित मिति : चैत २८, २०७८ साेमबार १५:१४:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया