२०७८ मा राष्ट्रिय क्रिकेट टोली व्यस्त रह्यो । कोरोना महामारीका कारण ठप्प क्रिकेट गतिविधि सञ्चालनमा आए । खेलाडीले वर्षको सुरुदेखि अन्त्यसम्म विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने मौका पाए ।
वर्षभरि टोली मैदानभित्र र बाहिरको गतिविधिले चर्चामा आइरह्यो । त्रिकोणात्मक टी-२० श्रृंखलाबाट सुरु भएको वर्ष त्रिकोणात्मक टी-२० श्रृंखलाबाटै बिदाइ भयो । मैदानभित्र खेलाडीको ब्याट/बल चल्दा मैदान बाहिर पनि यस वर्ष धेरै गतिविधि भए । नेपाली क्रिकेटका धराेहर पारस खड्काको संन्यासदेखि युवा स्टार सन्दीप लामिछाने कप्तान बन्दा यसले ठूलो चर्चा पायो ।
प्रशिक्षक डेभ वाटमोरको बहिर्गमन र पुबुदु दासानायकेको पुनरागमन अर्को चर्चाको विषय बन्यो । प्रशिक्षक परिवर्तन, कप्तानसहित खेलाडीमाथि कारबाही अनि कप्तान परिवर्तन हुँदा नेपाली क्रिकेटमा ठूलै हलचल आयो । जसले गर्दा टोलीमा गुट नै प्रष्ट रूपमा देखियो । यसकाे मार अन्ततः नेपाली क्रिकेटलाई नै पर्यो । विवाद छताछुल्ल भयो ।
यसबाहेक पनि अर्को ठूलो चर्चाको विषय नेपाल टी-२० विश्वकपमा छनोट हुन नसक्नाले रह्यो । युएईविरुद्ध निर्णायक खेलमा चुक्दा आठ वर्षपछि फेरि टी-२० विश्वकप पुग्ने नेपालको सपना अधुरै रह्यो । यसबाट नेपाली क्रिकेट पक्कै केही समय पछि धकेलिएको छ ।
नेपालले आफ्नो ५० औं टी-२० अन्तर्राष्ट्रिय खेल पनि यसै वर्ष खेल्यो । नेपाली क्रिकेटको अविभावक संस्था नेपाल क्रिकेट संघ (क्यान)ले आफ्नो वार्षिक साधारणसभाकाे आयाेजना पनि गर्याे ।
पारसको संन्यास
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले यसै वर्ष १९ साउनमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरे । सन् २००२ देखि क्रिकेट यात्राको सुरुवात गरेका पारसले सन् २००९ देखि २०१९ सम्म नेपाली टोलीको नेतृत्व गरेका थिए ।
पारसको कप्तानीमा नेपालले डिभिजन फाइभदेखि माथि उक्लँदै पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । उनकै कप्तानीमा नेपालले सन् २०१४ को टी-२० विश्वकप खेलेको थियो । पारसले राष्ट्रिय टोलीको कप्तानबाट १५ अक्टोबर २०१९ मा राजीनामा दिएका थिए ।
नेपाली क्रिकेटका उत्कृष्ट खेलाडी पारसले खेलाडी जीवनपछि टिमसँग मिलेर क्रिकेट एक्सलेन्स सेन्ट (सिइसी) नामक एकेडेमी सञ्चालन गरिरहेका छन् ।
ग्लोबल छनोटमा चुकेको नेपाल
टी-२० विश्वकपको ग्लोबल छनोटको सेमिफाइनलमा युएईसँग पराजित भएपछि नेपाल दोस्रो पटक टी-२० विश्वकप पुग्नबाट बञ्चित रह्यो । यसअघि सन् २०१४ मा नेपाललाई पहिलो पटक विश्वकप पुर्याएका प्रशिक्षक पुबुदु दासानायके नै यस पटक नेपालका प्रशिक्षक थिए ।
युवास्टार सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टोलीमा युवा खेलाडीको बाहुल्य थियो ।
ग्लोबल छनोट ‘ए’मा नेपालले कुल पाँच खेल खेल्दा एउटा मात्र खेलमा पराजय बेहाेर्यो । युएईविरुद्ध सेमिफाइनलको त्यही एक हारले नेपाल टी-२० विश्वकप खेल्नबाट चुकेकाे हाे ।
पिएनजीविरुद्ध एकै वर्ष नौ खेल
नेपालले वर्ष २०७८ मा खेलेका खेलमध्ये पपुवा न्युगिनी (पिएनजी) विरुद्ध झण्डै एक तिहाइ अर्थात् नौ खेल खेल्यो । जसमा नेपालले ६ एकदिवसीय र तीन टी-२० खेलेकाे हाे ।
नेपालले यही वर्ष पिएनजीसँग दुई द्विपक्षीय श्रृंखला खेल्यो । भदौमा ओमानमा भएको श्रृंखलाको दुवै खेलमा नेपाल विजयी भयो । चैतमा घरेलु मैदानमै भएको एकदिवसीय श्रृंखलामा भने नेपालले दुवै खेल गुमायो ।
त्यसअघि चैतमै युएईमा भएको आइसिसी विश्वकप लिग-२ श्रृंखलामा भने नेपालले पिएनजीलाई दुवै खेलमा हराएको थियो । एकदिवसीयमा ६ खेल खेल्दा नेपाल चार र पिएनजी दुई खेलमा विजयी भयाे ।
टी-२० तर्फ भने चैतमा घरेलु मैदानमै नेपाल, पिएनजी र मलेसिया सम्मिलित त्रिकोणात्मक श्रृंखला भयो । जसमा नेपालले लिग चरणका दुई र फाइनल गरी तीनवटै खेलमा पिएनजीलाई पराजित गर्याे ।
लिग-२ मा औसत प्रदर्शन
सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपको छनोटको आधार रहेको आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले यस वर्ष दुईवटा त्रिकोणात्मक श्रृंखला खेल्यो । जसमा नेपालले प्रदर्शन औसत रह्यो ।
लिग-२ मा नेपालले कुल ८ खेल खेल्दा समान चार जित र हारको नतिजा निकाल्यो । भदौमा ओमानमा भएको अमेरिकासमेत सम्मिलित श्रृंखलामा नेपालले ओमान र अमेरिकालाई एक-एक खेलमा हरायो भने दुवै टोलीसँग एक-एक खेलमा पराजित भयो।
यस्तै, चैतमा युएईमा सम्पन्न नेपाल, युएई र पिएनजी सम्मिलित श्रृंखलामा नेपाल युएईविरुद्ध दुवै खेलमा पराजित हुँदा पिएनजीलाई दुवै खेलमा हरायो ।
सात टिम सहभागी लिग-२ मा नेपालले १२ खेल खेल्दा ६ जित र ६ हारबाट १२ अंक जोडेर छैटौं स्थानमा छ । प्रतियोगितामा नेपाल सबैभन्दा कम खेल खेल्ने टोली हो । कुल नौवटा श्रृंखला खेल्न पाउने लिग-२ मा नेपालले हालसम्म मात्र तीन श्रृंखला खेलेको छ ।
यसअघि नेपालले २०२० मा घरेलु मैदानमै अमेरिका र ओमान सम्मिलित श्रृंखला खेलेको थियो । नेपालले अझै ६ श्रृंखला (२४ खेल) खेल खेल्न बाँकी छ । कोरोनाका कारण यही वर्ष तय भएको नेपाल, अमेरिका र ओमानबीचको श्रृंखला भने हुन सकेन।
१२ खेलाडीको अन्तर्राष्ट्रिय डेब्यु
वर्ष २०७८ मा १२ खेलाडीले राष्ट्रिय टोलीका लागि अन्तर्राष्ट्रिय डेब्यु गरे । जसमा चार खेलाडीले एकदिवसीय र टी-२० अन्तर्राष्ट्रिय दुवैमा, पाँच खेलाडीले टी-२० अन्तर्राष्ट्रियमा र तीन खेलाडी एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरे ।
ओपनर कुशल भुर्तेल र आसिफ शेख, सागर ढकाल र गुल्सन झाले दुवै फर्म्याटमा डेब्यु गर्दा शाहब आलम, विवेक यादव, लोकेश बम, दिलिप नाथ र आदिल अन्सारीले टी-२० तथा विक्रम सोब, देव खनाल र भीम सार्कीले एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्युको अवसर पाए ।
त्यस्तै, अघिल्लो वर्ष नै एकदविसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका कमसिंह ऐरी पनि यसै वर्ष टी-२० मा डेब्यु गर्ने अवसर प्राप्त गरे ।
टी-२० अन्तर्राष्ट्रियमा ६ पटक २०० भन्दा माथिको स्कोर
नेपालले यस वर्ष १८ वटा टी-२० अन्तर्राष्ट्रिय खेल खेल्यो । एक वर्षमा एकै खेल नेपालले खेलेको दोस्रो सर्वाधिक हो । यसअघि २०७६ सालमा नेपालले १९ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेको थियो ।
नेपाल यो वर्ष १४ खेलमा विजयी हुँदा जम्मा चार खेलमा मात्र पराजित भयो । नेपालले दुई त्रिकोणात्मक श्रृंखला खेल्दा १० मध्ये ९ खेलमा जितेको थियो । यस्तै, विश्वकप छनोटमा ४ र चार देश सम्मिलित श्रृखलामा १ खेल जित्यो ।
नेदरल्याण्ड्स, युएई, आयरल्याण्डसँग नेपाल पराजित भयो । युएईसँग टी-२० विश्वकप छनोटको हार भने नेपालको लागि महँगो सावित भयो । महत्त्वपूर्ण खेलमा युएईसँग पराजित खेललाई छाड्ने हो भने यस वर्ष नेपालले धेरै उपलब्धि हात पारेको छ ।
नेपालले नेदरल्याण्ड्स जस्तो टिमलाई दुई पटक पराजित गर्दा ओमान र पिएनजीलाई समान तीन तथा मलेसियालाई चार पटक हरायो । यसैगरी, नेपालले एकै वर्ष ६ पटक २०० भन्दा माथिको स्कोर बनायो । नेपालले अहिलेसम्म टी-२० मा ७ पटक २०० भन्दा माथिको रन बनाउँदा ६ पटक यसै वर्ष बन्यो ।
वैशाखमा भएको नेदरल्याण्ड्स विरुद्धको खेलमा नेपालले कीर्तिपुरस्थित त्रिवि मैदान २३८ रन बनाएको थियो । जुन नेपालको अहिलेसम्मको ठूलो स्कोर हो । योसहित ५ ठूला स्कोर त्रिवि मैदानमै बन्यो ।
त्यसअघि नेपालले २०७६ मा १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा भुटानविरुद्ध २३६ रन बनाएको थियो । यस्तै, चैतमा भएको त्रिकोणात्मक श्रृंखलामा नेपालले मलेसियाविरुद्ध २२३ रन बनायो । त्यसअघि फागुनमा ओमानमा भएको टी-२० विश्वकप छनोटमा फिलिपिन्स विरुद्ध २१८ रन बनाएको थियो ।
त्रिवि मैदानमै वैशाखमा नेपालले मलेसियाविरुद्ध २१७ र नेदरल्याण्ड्सविरुद्ध २०६ रन बनाएको थियो । त्यस्तै, चैतमा भएको श्रृखलामा पिएनजीविरुद्ध २०३ रन बनायो। व्यक्तिगततर्फ पनि नेपाली खेलाडीले उपलब्धी हात पारे । यस वर्ष चार शतक बन्यो । कुशल भुर्तेलले टी-२० मा फिलिपिन्सविरुद्ध ग्लोबल छनोटमा शतक प्रहार गरे ।
कुशलले टी-२० अन्तर्राष्ट्रिय डेब्युदेखि लगातार तीन खेलमा अर्धशतक प्रहार गर्दै कीर्तिमान बनाएका थिए । यस्तै, रोहित पौडेलले पनि चैतमा पिएनजीविरुद्ध एकदिवसीय खेलमा शतक प्रहार गरे। रोहितले बनाएको १२६ रन एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली खेलाडीको उच्च स्कोर हो ।
पिएनजीविरुद्धको दोस्रो एकदिवसीयमा दीपेन्द्रसिंह ऐरीले पनि शतक प्रहार गरे । चैतमा भएको त्रिकोणात्मक टी-२० श्रृंखलामा मलेसियाविरुद्ध अविजित ११० रन प्रहार गर्दै दीपेन्द्र पारसपछि दुवै फर्म्याटमा शतक प्रहार गर्ने खेलाडी बने ।
दीपेन्द्रले बनाएको ११० रन टी-२० अन्तर्राष्ट्रियमा नेपाली खेलाडीको उच्च स्कोर हो । दीपेन्द्र शतक प्रहार गर्ने एकदिवसीयमा तेस्रो तथा टी-२० आन्तर्राष्ट्रियमा चौथो खेलाडी हुन् । उनी टी-२० अन्तर्राष्ट्रियमा नेपालका लागि १००० रन पूरा गर्ने पहिलो खेलाडी समेत बने ।
त्यस्तै, कप्तान सन्दीप लामिछाने र करण केसीले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो ५० विकेट पूरा गरे ।
विवादमा क्यान
२९ मंसिरमा नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंहसहित चार खेलाडीलाई कारबाही गर्ने निर्णयले ठूलो चर्चा पायो ।
क्यानले मल्ल र ऐरीलाई पदबाट हटाउनुका साथै उनीहरूसँगै सोमपाल कामी र कमलसिंह ऐरीलाई अनुशासनविपरीत सञ्चारमाध्यममा गएर बोलेको भन्दै २०२२ को सुरुको ६ महिना केन्द्रीय सम्झौतामा नराख्ने निर्णय गरेको थियो ।
यो घटनाले क्यान र खेलाडीबीचको विवाद सतहमा ल्याएको थियो । क्यानको यो निर्णयको विरोध गर्दै खेलाडी प्रशिक्षणमा सहभागी भएनन् । पछि राष्ट्रिय टोलीकै प्रशिक्षण प्रभावित हुने भएपछि क्यान खेलाडीसँग छलफल गर्दै केन्द्रीय सम्झौतामा नराख्ने निर्णय भने फिर्ता लिन बाध्य बन्यो ।
वाटमोरको बहिर्गमन र पुबुदुको पुनरागमन
नेपालको ब्याटिङमा केही सुधार ल्याएका विश्वकप विजेता प्रशिक्षक डेभ वाटमोरले ओमानमा आइसिसी विश्वकप लिग-२ सकिएपछि राजीनामा दिए ।
नेपाल, ओमान र अमेरिका सम्मिलित लिग-२ सकिएपछि वाटमोर नेपाल नआई उतैबाट बिदा भए । इमेलमार्फत् क्यानलाई बुझाएको राजीनामा उनले महामारीका समयमा परिवारसँग टाढा बस्नु उपयुक्त नलागेको उल्लेख गरेका थिए।
श्रीलंकालाई विश्वकप जिताएका प्रशिक्षक वाटमोर नेपाल आउनुअघि सिंगापुरको प्रशिक्षक थिए । प्रशिक्षण करिअरको उत्तरार्द्धमा रहेका उनी नेपालमा राम्रो प्रभाव छाड्न चाहन्थे ।
नेपालमा उनले सोचे जस्तो भएन । एक त कोरोना महामारीका कारण लामो समय क्रिकेट गतिविधि ठप्प भयो । त्यसमाथि क्रिकेट संघको व्यवस्थापन पनि भद्रगोल रह्यो ।
श्रम सम्झौताकै कारण उनले सुरुको तीन महिना समयमा तलब पाउन सकेनन् । टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिनु पनि वाटमोरका लागि अनपेक्षित थियो ।
वाटमोरले छाडेपछि तीन महिना नेपाल प्रशिक्षकविहीन भयो । मंसिरमा पुबुदु दासानायके दोस्रो पटक नेपालको प्रशिक्षक बने ।
नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकले पुबुदुलाई प्रशिक्षकमा अनुमोदन गरेको थियो । पुबुदु सन् २०११ देखि २०१५ सम्म नेपालको प्रशिक्षक थिए । उनकै प्रशिक्षणमा नेपालले २०१४ को टी-२० विश्वकप खेलेको थियो ।
क्यानले सर्टलिस्टमा क्यानडाका पुबुदसँगै भारतका मोन्टी देसाईलगायतलाई राखेको थियो । तर नेपाली क्रिकेटलाई बुझेका र यसअघि काम गरिसकेकोले क्यानले पुबुदुलाई नै चयन गर्याे ।
महिला टोली
पुरुष टोलीजस्तो व्यस्त नभए पनि नेपाली महिला टोलीले यो वर्ष केही अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनायो । महिला टोलीले पहिलोपटक अन्तर्राष्ट्रिय श्रृंखलाका लागि कतार भ्रमण गर्याे । तीन खेलको टी-२० अन्तर्राष्ट्रिय श्रृंखलामा नेपालले तीनै खेल जित्दै क्लिन स्विप गर्याे ।
कतार भ्रमणअघि नेपालले भारतीय क्लबसँग अभ्यास खेल खेलेको थियो । त्यस्तै, नेपालले युएईमा भएको आइसिसी महिला टी-२० विश्वकप छनोट पनि खेल्यो ।
विश्वकपमा छनोट हुन असफल भए पनि नेपालले पाँचमध्ये तीन खेलमा जित हात पारेको थियो । यीबाहेक नेपालको युवा टोलीले यु-१९ एसिया कप खेल्यो । त्यस्तै, खेलाडी विभिन्न घरेलु प्रतियोगितामा पनि व्यस्त रहे ।
सर्वाधिक एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने सात नेपाली क्रिकेटर, को कति सफल ?
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।