चितवनमा जारी राष्ट्रिय महिला लिगमा १०० गोल पूरा भएको छ । शारदानगरमा चलिरहेको लिगमा पहिलो चरण नसकिँदै १०० गोल पूरा भएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला लिगको दोस्रो संस्करण चितवन र विराटनगरमा आयोजना गर्दैछ ।
पहिलो चरणका खेल चितवनमा चलिरहेको छ । जसमा एक चरणका बाँकी खेल आज (मंगलबार) र भोलि (बुधबार) समाप्त हुँदै छन् ।
दोस्रो चरणका खेलहरू विराटनगरस्थित सहिद रंगशालामा आयोजना हुनेछ । पहिलो चरणमा कुल २८ खेल हुनेछन् । जसमा २४ खेल समाप्त भइसकेको छ।
हालसम्म २४ खेल पुरा हुँदा ११० गोल भएका छन् । लिगको सयौं गोल गर्ने खेलाडी सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबकी मन्जली कुमारी योञ्जन बनिन् ।
मन्जलीले धनगढी उपमहानगरपालिका विरुद्ध २५ औं मिनेटमा गोल गर्दै जारी लिगको शतक गोल गरेकी हुन् ।
यसअघि लिगको पहिलो गोल त्रिभुवन आर्मी फुटबल क्लबकी रश्मि कुमारी घिसिङले गरेकी थिइन ।
लिगको ५० औँ गोल एपिएफकै सावित्रा भण्डारी (साम्बा)ले पूरा गरेकी हुन् । उनले चन्द्रपुरविरुद्ध ह्याट्रिक गर्ने क्रममा लिगको ५० औं गोल गरेकी थिइन् ।
जारी लिगमा उच्च गोलकर्ताको शीर्षस्थानमा एपिएफकी सावित्रा भण्डारी (साम्बा) रहेकी छन् । उनले तीन ह्याट्रिकसहित पाँच खेलमा १३ गोल गरेकी छिन् ।
चोटका कारण एक वर्षपछि मैदानमा पुनरागमन गरेकी साम्बाले वालिङ नगरपालिका र धनगढीविरुद्ध समान चार गोल गर्दा चन्द्रपुरविरुद्ध तीन गोल गरेकी छिन् । यस्तै, नेपाल पुलिस र ललितपुर महानगरपालिकाविरुद्ध समान एक गोल गरेकी छिन् ।
उच्च गोलकर्ताको दौडमा आर्मीकी रश्मीकुमारी घिसिङ सात गोल, धनगढीकी चन्द्रा भण्डारी ६ गोल, शर्मिला थापा मगर पाँच गोल र मन्जलीकुमारी योञ्जन चार गोल गरी क्रमशः दोस्रो देखि पाँचौ स्थानमा छन् ।
तीन गोल गर्ने खेलाडीमा आठ जना छन् भने १२ खेलाडीले दुई गोल गरेका छन् । एक गोल गर्ने २६ खेलाडी छन् भने एक खेलाडीले आत्माघाति गोल गरेकी छन् ।
जारी लिगमा ६ खेल खेलेको एपिएफल सतप्रतिशत जितका साथ १८ अंक जोडेर शीर्ष स्थानमा छ । नेपाल पुलिस क्लब तीन जित र एक हार सहित १५ अंक बनाएर दोस्रो स्थानमा छ ।
तेस्रो स्थानको आर्मीको ६ खेलबाट चार जित र दुई हारसहित १२ अंक छ । विराटनगर चौथो स्थानमा रहँदा धनगढी पाँचौं स्थानमा छ । चन्द्रपुर छैँटौं, ललितपुर सातौं र वालिङ बिना अंक पुछारमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।