नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन लक्षित गरेको ‘घर घर जाऔं, कांग्रेस जिताऔं’ अभियान सफल रहेको बताएको छ ।
एक महिने अभियान सकिएपछि मंगलबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले एक महिने अभियान अत्यन्तै सफल रहेको बताए ।
उनले भने, ‘धेरै भ्रम फैलाइएको थियो । एमसिसीबारे ठूलो खालको भ्रम छरिएको रहेछ । विकास निर्माणका कामबारे पनि भ्रम फैलाइएको थियो । त्यो सबै भ्रम चिर्न सफल भयौं ।’
पाँच वर्षे म्यान्डेट पाएर अधुरै छोडेका केपी ओली नेतृत्वको पार्टीलाई किन जिताउने भन्नेबारे पनि जनधारणा बुझ्ने मौका मिलेको उनले बताए ।
‘घरघरमा गएर जनताको धारणा नजिकबाट बुझ्नै मौका पायौं । चुनावी तालमेलका विषयमा पनि उहाँहरूको धारणा कस्तो छ ? त्यो बुझ्ने मौका मिल्यो’, डा. महतले भने।
स्थानीय तह निर्वाचनका लागि पार्टीको अवस्था कस्तो छ भन्ने विषयमा पनि नजिकबाट बुझ्ने मौका मिलेको उनको भनाइ छ ।
स्थानीय तह लक्षित गरेर कांग्रेसले गत २९ फागुनदेखि एक महिने अभियान सञ्चालन गरेको थियो । अभियानमा कांग्रेसका केन्द्रीय प्रतिनिधिहरू गाउँघर केन्द्रित भएका थिए ।
अभियानको क्रममा केन्द्रीय प्रतिनिधिहरूलाई गाउँघरमा कांग्रेसबारे जनताको धारणा, पार्टीबारे फैलाइएका भ्रम चिर्ने, चुनावी तालमेल गरेर अघि बढ्ने विषयमा जनताको धारणालगायतका विषय बुझ्ने म्यान्डेट पाएका थिए ।
एक महिने अभियान सकेर केन्द्रीय प्रतिनिधिहरू सबै काठमाडाैं फर्किँदैछन् । उनीहरूले आफूलाई खटाइएकाे जिल्लाकाे वस्तुस्थितिबारे प्रतिवेदन बुझाउनुपर्ने छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।