देउवाकै गृहपालिकामा गठबन्धन अस्वीकार

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाकै गृहपालिका गन्यापधुरा गाउँपालिकामा चुनावी तालमेलका लागि असहमति जनाएका छन् ।

‘स्थानीय अवस्था र आवश्यकताअनुरुप तालमेल गर्न सक्ने’ भन्दै गरेको नीतिगत निर्णयमा टेकेर शीर्ष तहका नेताहरुकै गृहजिल्लामा वडा र पालिकास्तरीय कार्यसममितिहरु तालमेल आवश्यक नरहेको अडानमा छन् ।

डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा स्थानीय कार्य समितिले चुनावी तालमेल अस्वीकार गरेका छन् । गन्यापधुरा गाउँपालिका– २ र ३ को वडा कार्यसमितिले चुनावी तालमेल आवश्यक नरहेको निर्णय गरेर गाउँपालिका कार्यसमितिलाई पत्र पठाएका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा ती दुवै वडामा कांग्रेस विजयी भएको थियो ।

तालमेलविना जित्न सकिने भन्दै दुवै वडाले निर्णयसहित सिफारिस पत्र पठाएको कांग्रेस गन्यापधुराका सभापति इन्द्र कार्कीले जानकारी दिए । उनका अनुसार १, ४ र ५ का वडा कार्यसमितिले तालमेलबारे निर्णय गरिसकेका छैनन् ।

२०७४ को स्थानीय निर्वाचनमा वडा नम्बर १ मा कांग्रेस, ४ मा नेकपा माओवादी केन्द्र र ५ मा नेकपा एमाले विजयी भएका थिए । तालमेलबारे निर्णय नगरेको वडा नम्बर १ मा प्रधानमन्त्री देउवाको मतदाता नामावली छ ।

गाउँपालिका कार्यसमिति सभापति कार्कीले गन्यापधुरामा चुनावी तालमेल आवश्यक नरहेको आशय व्यक्त गर्दै वडा कार्यसमितिको सिफारिस माथिल्लो तहलाई जस्ताको त्यस्तै पठाउने बताएका छन् ।



‘स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई अझै सबल र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकताअनुरुप गठबन्धनका अन्य दलसँग तालमेल गर्न सक्ने नीतिगत निर्णय यो बैठक गर्दछ,’ केन्द्रीय कार्यसमिति बैठकले भनेको थियो ।



  • प्रकाशित मिति : चैत २९, २०७८ मंगलबार १८:३४:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया