कर्णाली प्रदेशमा नेपाली कांग्रेस वडामै कमजोर

कर्णाली प्रदेशमा नेपाली कांग्रेसको उपस्थिति सन्तोषजनक छैन । खासगरी प्रदेशको राजधानीकेन्द्रित राजनीति गरिरहेको कांग्रेसले कर्णालीका अन्य जिल्लामा खासै ध्यान दिन नसकेको देखिन्छ ।

कर्णालीमा कुल ७९ स्थानीय तह छन् । प्रदेशभरका २५ नगरपालिका र ५४ गाउँपालिकामा सात सय १८ वडा छन् । ०७४ को स्थानीय तहको निर्वाचनलाई हेर्ने हो भने कांग्रेसले प्रदेशभर २५ स्थानीय तहको प्रमुख पदमा नेतृत्व गरेको छ । १४ स्थानीय तहका उपप्रमुख पदमा समेत कांग्रेसको नेतृत्व छ ।

०७४ को स्थानीय तहको निर्वाचन परिणामलाई हेर्ने हो भने कर्णालीमा कांग्रेस वडा स्तरदेखि नै कमजोर देखिन्छ । प्रदेशभर कुल सात सय १८ वडामध्ये एक सय ८१ वडामा मात्र कांग्रेसका उम्मेदवार वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए । ०७४ को स्थानीय तहको मत परिणामले कांग्रेसले वडाको राजनीतिमा ध्यान नदिई स्थानीय तहको नेतृत्वका लागि प्रमुख तथा उपप्रमुख पद सेरोफेरोमा मात्र कार्ययोजना बनाउँदा कांग्रेस वडा स्तरमा कमजोर देखिएको हो ।

के छ जिल्लागत अवस्था ?

रुकुम पश्चिम
रुकुम पश्चिमा कांग्रेसको उपस्थिति खासै प्रभावकारी छैन । यो जिल्लामा कुल ६ वटा स्थानीय तह छन् । ०७४ को स्थानीय निर्वाचनको नतिजा हेर्ने हो भने रुकुम पश्चिममा कांग्रेसले कुनै पनि पालिकाको नेतृत्व गर्न सकेन ।
 
रुकुम पश्चिममा स्थानीय तहका प्रमुख तथा उपप्रमुख पदमा कांग्रेसका कुनै पनि उम्मेदवार विजयी नभए पनि यस क्षेत्रका १३ वटा वडामा कांग्रेसले वडा अध्यक्ष पद भने पाएको छ । रुकुम पश्चिमका स्थानीय तहमा माओवादी केन्द्रले ६ वटै प्रमुख तथा उपप्रमुख पदसहित ५८ वडामा अध्यक्ष पाएको थियो ।    

सल्यान
सल्यान जिल्लामा कांग्रेसको उपस्थिति मध्यम मान्न सकिन्छ । स्थानीय निर्वाचन ०७४लाई हेर्दा सल्यान जिल्लाका लागि कांग्रेस तेस्रो ठूलो दल हो । जिल्लाका कुल १० स्थानीय तहमध्ये कांग्रेसले ३ स्थानमा प्रमुख तथा उपप्रमुख पद पाएको छ । कुल ८३ वटा वडा रहेका जिल्लामा कांग्रेसले २३ वडामा नेतृत्व गरेको छ ।   



सुर्खेत
प्रदेशका सबै जिल्लामध्ये कांग्रेसको पकड रहेको जिल्ला सुर्खेत हो । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको गृहजिल्ला पनि हो, सुर्खेत । यस जिल्लामा कांग्रेस र नेकपा एमाले समानान्तर प्रतिस्पर्धामा देखिन्छन् । कुल नौ स्थानीय तह रहेको सुर्खेतमा स्थानीय निर्वाचन ०७४ मा कांग्रेसले ६ स्थानीय तहमा प्रमुख र पाँच स्थानीय तहमा उपप्रमुख पद पाएको छ । जिल्लाभरका ९९ वडामध्ये ४६ वटा वडामा कांग्रेसले नेतृत्व गरेको छ ।

दैलेख
दैलेखमा कांग्रेसको उपस्थिति सोचेअनुरूप छैन । प्रदेशको राजधानी सुर्खेतमा प्रभाव जमाएको कांग्रेससँग नजिकिए पनि दैलेख जिल्लाका ११ स्थानीय तहमध्ये चार स्थानमा प्रमुख तथा उपप्रमुख पद मात्र कांग्रेसले नेतृत्व गरेको छ । दैलेखका वडाहरुमा समेत कांग्रेस कमजोर छ । कुल ९० वडा रहेका जिल्लामा ३३ स्थानमा कांग्रेसको नेतृत्व छ ।



जाजरकोट
कांग्रेसका प्रभावशाली नेता राजीवविक्रम शाहको गृहजिल्ला जाजरकोटमा पनि कांग्रेसले बर्चस्व हासिल गर्न सकेको छैन । कुल सात स्थानीय तह रहेको जाजरकोटमा कांग्रेसले दुई स्थानीय तहमा प्रमुख र एक स्थानीय तहमा उपप्रमुख पद पाएको छ । मतान्तरको रुपमा चार प्रमुख पदमा कांग्रेस दोस्रो स्थानमा छ । कुल ७७ वडा रहेको जिल्लामा कांग्रेसले २५ वडामा नेतृत्व सम्हालेको छ । 

डोल्पा
डोल्पामा कांग्रेसको उपस्थिति शून्यझैँ छ । कुल ८ स्थानीय तह रहेको डोल्पामा कांग्रेसले स्थानीय तहको नेतृत्व गर्न सकेन । स्थानीय निर्वाचन ०७४ को नतिजा हेर्ने हो भने जिल्लाभर ६५ वडा रहेको डोल्पामा पाँच वडामा मात्र कांग्रेसको नेतृत्व छ ।    

जुम्ला
जुम्लामा कांग्रेस दोस्रो स्थानमा छ । यस जिल्लामा नेकपा माओवादीको नेतृत्व छ । ८ स्थानीय तह रहेको जुम्लामा कांग्रेसले चार स्थानमा प्रमुख तथा दुई स्थानीय तहमा उपप्रमुख पद पाएको छ । जिल्लाका कुल ६० वटा वडामध्ये १४ वडामा मात्र कांग्रेसको नेतृत्व छ ।

कालिकोट
कालिकोटमा पनि नौ स्थानीय तहमध्ये एकमा प्रमुख पद कांग्रेसको छ । जिल्लाका कुल ८२ वडामध्ये १६ वडामा मात्र कांग्रेसको नेतृत्व छ । यस जिल्लाका अधिकांश स्थानीय तहमा नेकपा माओवादीले नेतृत्व गरिरहेको छ ।    
 
मुगु
सुर्खेतझैँ कांग्रेसको राम्रो उपस्थिति रहेको जिल्ला मुगु पनि हो । कुल चार स्थानीय तह रहेको मुगुमा तीन स्थानीय तहमा कांग्रेसले स्थानीय निर्वाचन ०७४मा प्रमुख पद पाएको थियो । यसैगरी, जिल्लाका कुल ४५ वडामध्ये १९ वडामा कांग्रेसले नेतृत्व गरिरहेको छ ।  

हुम्ला
कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीको गृहजिल्ला समेत हो, हुम्ला । हुम्लामा पनि कांग्रेसले खास नेतृत्व गर्न सकिरहेको भने छैन । कुल सात स्थानीय तहमध्ये ०७४ को स्थानीय निर्वाचनमा दुई स्थानीय तहमा प्रमुख र एक स्थानीय तहमा उपप्रमुख पद कांग्रेसले पाएको थियो । वडागत रुपमा ४४ वडामध्ये ११ वडामा मात्र कांग्रेसको नेतृत्व छ ।

‘यसपालि अवस्था सुध्रिन्छ

०७४ को स्थानीय निर्वाचनमा कर्णाली प्रदेशमा कांग्रेसको अवस्था खास राम्रो नदेखिए पनि ०७९ को निर्वाचनपश्चात् मत भने परिणाममा सुधार हुने कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाही बताउँछन् ।

यसपालि कर्णालीमा समेत गठबन्धनसँगै कांग्रेस स्थानीय निकायको निर्वाचन लड्दै छ । प्रदेश सभापति शाहीले भने, ‘गठबन्धनका रुपरेखाका आधारमा कर्णालीको कांग्रेस अघि बढ्छ । प्रदेशका कुनै स्थानमा गठबन्धन भए वा नभए पनि ०७९ को स्थानीय तहको निर्वाचनमा भने कांग्रेसले कर्णालीमा राम्रो मतपरिणाम ल्याउँछ ।’ 

कर्णालीमा पहिलेको भन्दा हाल कांग्रेसको अवस्था सुध्रिने प्रदेश सभापति शाहीको दाबी छ ।

  • प्रकाशित मिति : चैत २९, २०७८ मंगलबार २१:५०:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया