काठमाडौं– संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को तेस्रो अधिवेशन बुधबारदेखि सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा अपराह्न ४ बजे सुरु भएको संघीयय संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकमा सभामुख कृष्णबहादुर महराले उपस्थित सबै सदस्यलाई स्वागत गर्दै संसदको अधिवेशन आह्वान सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाएका थिए ।
बैठकमा राजनीतिक परिवर्तनका लागि मुलुकमा विभिन्न समयमा भएका आन्दोलनमा सहादत प्राप्त गर्ने सबै ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्न एक मिनेट मौनधारण गरिएको थियो । संसद्को हिउँदे अधिवेशनमा विभिन्न विधेयकमाथि छलफल गरी पारित गरिनेछ ।
नेपालको संविधानको साझा सूचीमा रहेका, सविधानसँग बाझिने तथा संक्रमणकालीन न्यायसँग सम्बन्धित कानुन निर्माण र संशोधन यसअधिवेशनको मुख्य कार्यभार रहेको छ । अधिवेशनको प्रारम्भका अवसरमा बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने पार्टीका नेता एवं सदस्यले शुभकामनासहितको मन्तव्य राख्ने क्रम सुरु भएको छ ।
बुधबारकै बैठकमा प्रशासकीय अदालत विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ भने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन अध्यादेश २०७५ प्रस्तुत गर्ने कार्यसूची छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।