७ महिना अगाडि छुरा प्रहार गरिएका युवकको मृत्यु, आरोपीलाई अदालतबाट सफाइ

धनुषाको धनौजी गाउँपालिका वडा नम्बर-५, बहुअर्वा बुधबार बिहानैदेखि शोकमग्न अवस्थामा छ । समग्र गाउँ नै शोकमा डुबेको छ । 

गाउँ नै शोकमग्न हुनुको कारण छ- गाउँका एक युवामाथि छुरा प्रहारका कारण उनको असामयिक निधन । घटना केही महिना पूरानो भए पनि समस्याले भने अहिले आएर विकराल रूप लिएको छ ।

मृत्युलाई कुनै पनि परिस्थितिमा सहज मानिँदैन । मृत्यु असहज हुन्छ ! यद्यपि आफ्नो आयुका कारण कसैको मृत्यु भएमा पीडा थोरै कम अनुभूति हुन्छ । यो मानवीय स्वभाव हो ।

तथापि अराजकताको अवस्था सिर्जना गरेर कसैको हत्या गरेका आरोपीलाई नै सरोकारवाला निकायले माफी दियो भने त्यो मृत्यु परिवार र समाजका लागि अत्यधिक पीडादायी हुन्छ । 

करिब ७ महिनाअघि बहुअर्वा गाउँमा गणेशपूजाको भव्य मेला आयोजना गरिएको थियो । मेला हेर्न पुगेको भीडमा स्थानीय रामनन्दन मण्डल केवटका छोरा सरोजकुमार मण्डल पनि थिए । 

मेलामा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । सबैले सोही कार्यक्रम हेरिरहेका थिए । अचानक दुई समूहबीच विवाद भयो । सरोजले केही नसोची हतपत झगडा मिलाउन पुगे । तर, सोही क्रममा नसोचेको घटना घट्यो । अचानक सरोजको पेटमा छुरा प्रहार गरियो ।



२०७८ साल भदौ २६ गते राति करिव २ बजे यस्तो अपराधिक घटना घटेकाे हाे। मेलामा नाच हेरिरहेका बेला सोही गाउँका अमितकुमार मण्डल, मनिषकुमार मण्डल, राजीवकुमार मण्डलबीच आपसी विवाद भएकाे थियाे ।

सोही विवादमा प्रतिवादी मनिष र राजिवले अमितको टाउकोमाथि हतियार प्रहार गर्‍याे । 



अमितको बचाउका लागि बजरंग राउत र सरोजकुमार मण्डल त्यहाँ पुगे । त्यहाँ पुग्नेवित्तिकै उनीहरूमाथि पनि छुरा प्रहार गरियो । बजरंगको तिघ्रामा र सरोजको पेटमा छुरा प्रहार गरी अंगभंग गरियो । 

सरोजको सोही बेलादेखि काठमाडाैंस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको थियो । 

धनौजी गाउँपालिका वडा नम्बर-५ बहुर्अवा निवासी रामआशिष मण्डलका १८ वर्षीय छोरा मनिषकुमार मण्डल र वडा नम्बर-४ निवासी विमल मण्डलका २३ वर्षीय छोरा राजीवकुमार मण्डलमाथि ‘ज्यान मार्ने उद्योग’ मा जिल्ला अदालत धनुषामा मुद्दा दर्ता गरियो । 

जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलाशले हत्या अभियोग (ज्यान मार्ने उद्योग) मुद्दालाई सामान्य कुटपिटमा परिणत गरी प्रतिवादीलाई मुक्त गर्ने फैसला सुनाइयो । 

फैसलामा प्रतिवादी राजीवकुमार मण्डलले गम्भीर घाइते सरोज मण्डलको उपचार खर्चवापत ४ लाख ९२ हजार २५९ रुपैयाँ, घाइते अनिल मण्डललाई ६९ हजार ३ सय र बजरंग प्रसाद राउतलाई ३ हजार १३० रुपैयाँको बिल भरपाइ अनुसार उपचार खर्च उपलब्ध गराउने उल्लेख छ ।

वडा नम्बर-५ का वडाध्यक्ष कमलनारायण पंकजले भने, ‘सरोजको उपचारको क्रममा पेटमा गम्भीर घाउ भएको थियो । उनको ‘ल्याप्राटोमी’ प्रविधि’ बाट शल्यक्रियाको क्रम जारी थियो । त्यस्तो अवस्थामा न्यायाधीश भट्टराईले कुन विवेकको प्रयोग गरी हत्या अभियोगमा कारागारमा रहेका व्यक्तिलाई कुटपिट  मुद्दामा परिणत गरी रिहा गरियो?’

अदालतको आदेशबाट रिहा भएका व्यक्ति केही दिन नबित्दै विदेश गइसके । यता, घाइते सरोजको सोमबार राति उपचारकै क्रममा असामयिक निधन भयो । सरोजको परिवारजनसहित समग्र गाउँ नै अहिले शोकमग्न अवस्थामा छन् । 

सबैले अहिले न्यायालयबाट नै अन्याय गरिएको अनुभूति गरिरहेका छन् । 

न्यायकर्ता न्यायाधीश शंकाको घेरामा छन् भने पीडित पक्ष सही न्यायको खोजीमा भौतारिरहेका छन् । न्यायिक अधिकार क्षेत्रका व्यक्तिद्वारा नै अहिले सरोजको परिवारमाथि दुःखको पहाड खसाइएको छ । 

सरोजको परिवारमा उनका आमा, बाबु, पत्नी चान्दनी मण्डल, ९ वर्षीय छोरा भूमि मण्डल र ५ वर्षीया छोरी भूमिका मण्डल छन् ।

  • प्रकाशित मिति : चैत ३०, २०७८ बुधबार १६:२०:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया