‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न प्रयत्नशील हुनुपर्छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिएकी छन् । आज शुभकामना सन्देश जारी गर्दै उनले नयाँ वर्षको सुरुआत भएको अवसरमा विगतको कठोर अनुभवबाट शिक्षा लिएर आगामी यात्रा तय गर्न आवश्यक रहेको उल्लेख गरेकी छन् ।

राष्ट्रपति भण्डारीले हरेक वर्ष बढिरहेको व्यापार असन्तुलन कम गर्न स्वदेशी उत्पादनलाई बढावा दिनुका साथै उद्यमशीलता प्रवद्र्धन गरी राष्ट्रिय पुँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने कुरा पनि सन्देशमा भनेकी छन् । 

‘ठूलो सङ्ख्यामा विदेशिने युवा शक्तिलाई स्वदेशकै विकासमा आबद्ध गर्न रोजगारी र अवसरको सिर्जना गर्ने नीति कार्यान्वयन गर्न ढिलाइ गरिनु हुँदैन । जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्य, कृषि र वातावरण संरक्षणलाई उच्च प्राथमिकतामा राखेर सोहीअनुसारका नीति अवलम्बन गर्दै दिगो विकासको लक्ष्य हासिल गर्नेतर्फ अग्रसर हुन सङ्घीय, प्रदेश र स्थानीय सरकारका साथै सम्बद्ध सबैमा आह्वान गर्दछु,’ राष्ट्रपतिको शुभकामना सन्देशमा भनिएको छ ।

प्रकृतिप्रदत्त स्रोतको दिगो व्यवस्थापन एवं उपयोगमार्फत वातावरणमैत्री आर्थिक विकासद्वारा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न प्रयत्नशील हुनुपर्ने पनि राष्ट्रपति भण्डारीले उल्लेख गरेकी छन् । 

स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा जनताले आफ्नो मताधिकारको प्रयोग गर्न पाउनु लोकतन्त्रको उच्चतम् अभ्यास भएको हुनाले आगामी ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनलाई सोहीअनुरूप सम्पन्न गर्नु सबैको जिम्मेवारी रहेको पनि राष्ट्रपति भण्डारीले बताएकी छन् । 






  • प्रकाशित मिति : बैशाख १, २०७९ बिहीबार ७:३८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया