कर्णाली प्रदेशमा हुम्ला, मुगु, दैलेख र जाजरकोट नेकपा एमालेको बढी प्रभाव रहेको जिल्ला हुन् । यी जिल्लामा एमालेको प्रभाव वडामा बढी देखिएको हो । ०७४ को स्थानीय निर्वाचनमा मुगुका स्थानीय तहमा एमालेले प्रमुख पदमा आफ्नो उम्मेदवार पुर्याउन सकेन । तर, दुई स्थानीय तहमा भने उसका दुई उम्मेदवार विजयी भए ।
साथै, एमालेले वडा स्तरमा भने आफ्नो प्रभाव कायमै राख्यो । मुगुको ४५ मध्ये २० वडामा एमालेबाट निर्वाचित वडाध्यक्ष छन् । जिल्लाको सोरु गाउँपालिका र खत्याड गाउँपालिकामा एमालेको प्रभाव बढी छ ।
नेपाली कांग्रेस पनि सुर्खेतपछि मुगुमा आफ्नो प्रभाव राख्दै आएको छ । अघिल्लो निर्वाचनमा कांग्रेसले जिल्लामा तीन स्थानीय तह प्रमुख जितेको थियो । उसले वडामा भने १७ ठाउँमा मात्र जित प्राप्त गर्यो ।
त्यस्तै, हुम्लामा पनि वडामा एमालेको प्रभाव बढी रहेको छ । जिल्लाको कुल ४४ वडामध्ये एमालेले २२ वडामा नेतृत्व गरिरहेको छ । जिल्लामा ०७४ को निर्वाचनमा एमालेले एक प्रमुख र तीन उपप्रमुख पद पाएको थियो । हुम्लाको अदानचुली गाउँपालिका एमालेको बढी प्रभाव भएको स्थानीय तह हो । यहाँ प्रमुख र उप-प्रमुखसहित ६ मध्ये तीन वडामा एमालेको नेतृत्व छ ।
एमालेले प्रभाव राख्ने कर्णालीको तेस्रो जिल्ला हो- दैलेख । यहाँ एमाले र कांग्रेसबीच कडा टक्कर हुने गरेको छ । जिल्लाको ११ मध्ये आठ स्थानीय तहमा एमालेको प्रभाव बढी देखिन्छ । आठबीस नगरपालिका, ठाँटीकाँध गाउँपालिका, चामुण्डा विन्द्रासैनी नगरपालिका, भैरवी गाउँपालिका, महावु गाउँपालिका, दुल्लु, नारायण र भगवतिमाई नगरपालिका एमालेको प्रभाव रहेका स्थानीय तह हुन् ।
११ मध्ये सात स्थानीय तहमा एमालेका प्रमुख तथा उपप्रमुख छन् । जिल्लाभर ९० मध्ये ५२ वडामा एमालेका वडाअध्यक्ष छन् । ०७४ को स्थानीय निर्वाचन मतपरिणाम हेर्ने हो भने दैलेखमा एमालेको उपस्थिति राम्रो देखिन्छ ।
जाजरकोट पनि एमालेको प्रभाव रहेको जिल्लामा पर्छ । जिल्लाको छेडागाड नगरपालिका, शिवालय गाउँपालिका र भेरी नगरपालिका एमालेको प्रभाव छ । जिल्लाको ७७ मध्ये २९ वडामा एमालेबाट वडाध्यक्ष छन् ।
कर्णालीमा कालीकोट, जुम्ला, सल्यान र रुकुम पश्चिममा माओवादीको प्रभाव राम्रो छ । प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकासहित सुर्खेतमा भने कांग्रेसको उपस्थिति बलियो देखिन्छ ।
अघिल्लो निर्वाचनमा एमालेबाट कर्णालीमा ५७ प्रमुख र उपप्रमुख विजयी भएका थिए । अन्य दलको तुलनामा यो संख्या बढी हो । प्रदेशभरका ७ सय १८ वडामध्ये एमालेले २ सय ५२ वडा जितेको थियो ।
वडामा पनि एमाले बलियो देखिन्छ । यसपटक भने पार्टी विभाजनको असरले एमालेलाई आफ्नो विरासत जोगाउन गाह्रो छ । साथै, गठबन्धनसँग चुनाव लड्नुपर्ने भएकाले पनि एमालेलाई चुनौती थपिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।