तालमेल राजनीतिक संस्कृतिको लागि हितकर छैन, तर पार्टीको निर्णय मान्छु : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तह निर्वाचनमा गठबन्धनमा रहेका दलहरूको स्थानीय पार्टी कमिटीमा सहमति नजुटे तालमेल नहुने बताएका छन् । बिहीबार कांग्रेस काठमाडौं महानगरपालिका–८ ले नयाँ वर्षको अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उनले स्थानीय निर्वाचनमा तालमेल गर्ने अधिकार स्थानीय पार्टी कमिटीलाई भएको बताएका हुन् ।

महामन्त्री थापाले गठबन्धनका दलहरूकाबीचमा देशभरि छलफल चलिरहेको उल्लेख गर्दै दलका बीचमा स्थानीय स्तरमा कुरा मिलेमा मात्रै तालमेल हुने अन्यथा आ–आफू निर्वाचन लड्ने बताए ।

स्थानीय पार्टी कमिटीले तालमेल नगर्ने भनेमा माथिल्लो तहले तालमेलको निर्णय नथोपर्ने उनले उल्लेख गरे । महामन्त्री थापाले व्यक्तिगत रूपमा आफू तालमेलको पक्षमा नरहेको भएपनि पार्टीले गरेको निर्णय मानेको पनि बताए । 

‘यो गठबन्धन, तालमेल नेपालको राजनीतिक संस्कृतिको लागि यो हितकर छदै छैन । चुनाव अगाडि गर्ने तालमेल भन्ने मत मेरो आफ्नो मत हो । मत राखेँ । तर पार्टीको बहुसंख्यक साथीहरूले तालमेल गरेर जानुपर्छ भन्ने निर्णय गरिसके पछाडि पार्टीको त्यो निर्णयलाई मानेको छु । मान्नुपर्छ,’ थापाले भने, ‘पार्टीमा आवद्ध भइसकेपछि परिवार भन्या जस्तै हो यो । परिवारमा बुबा, आमा, छोरा, छोरी, श्रीमान्, श्रीमती हुँदै गर्दा यता घुम्न जाउँ भन्ने मत हुन्छ । यो वर्ष यसमा खर्च गरौँ भन्ने मत हुन्छ । आफ्नो मतमा अरूलाई मनाउने कोसिस गर्छौ । मानेनौ भने कहिलेकाहीँ परिवारको एउटा निर्णयलाई हामी मानेर हिँड्छौँ । पार्टीको सन्दर्भमा पनि यही कुरा हुने हो ।’ 

उनले कांग्रेसभित्र बृहत्तर एकता कायम गर्नुपर्ने बताए । निर्वाचनमा को उठ्दा जित्छ उसैलाई उठाउनुपर्ने थापाको भनाइ छ । पार्टीले उम्मेदवारको सम्बन्धमा गरेको निर्णय सबै नेता/कार्यकर्ताले मान्नुपर्नेमा उनको जोड छ । 





  • प्रकाशित मिति : बैशाख १, २०७९ बिहीबार १३:५:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया