नयाँ जनकपुरधाम निर्माण गर्नु आफ्नो मुख्य लक्ष्य : जानकीराम साह

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-७ का वडाध्यक्ष जानकीराम साहले आगामी निर्वाचनमा मेयर पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

बिहीबार निर्वाचनका लागि जनकपुरधाममा एकैपटक पाँच ठाउँमा सम्पर्क कार्यालयको उद्घाटन गर्दै साहले मेयर पदमा आफ्नो उम्मेदवारी रहने घोषणा गरेका हुन् ।

सम्पर्क कार्यालयको उद्घाटन गर्दै साहले जनकपुरधामको समग्र विकासका लागि आफ्नो उम्मेदवारी रहने दाबी गरे । 

उनले भने, ‘जनकपुरधामको समग्र विकासका लागि सबभन्दा पहिले पवित्र मन, दृढ संकल्प, अर्जुन दृष्टि र व्यवहारमा कार्यान्वयन गर्न इच्छाशक्ति अत्यन्त आवश्यक छ।’ 

साहले आम जनकपुरधामवासीको साथ, समर्थन र सहयोग प्राप्त भए आफूले आगामी पाँच वर्षमा आमूल परिवर्तन गर्ने दाबी गरे । 

‘म हावादरी कुरा गर्दिनँ कि जनकपुरधामलाई पाँच वर्षमा स्वर्ग बनाउँछु’, उनले भने, ‘तर, जनकपुरधामवासीको स्मार्ट सिटीको सपना पूरा भएको छैन । त्यसमा म आफ्नो सम्पूर्ण इफोर्ट लगाउनेछु ।’



उनले नयाँ जनकपुरधाम बनाउनका लागि युवाको नेतृत्व आवश्यक रहेकोले आफूलाई यसपालि सहयोग गर्न सबैसँग आग्रहसमेत गरे । 

साहले विगत पाँच वर्षमा जनकपुरधामले खासै कुनै प्रगति गर्न नसकेको बताउँदै शिक्षा, स्वास्थ्य, भौतिक निर्माणलगायत अधिकांश क्षेत्रको अवस्था अझै पनि जर्जर रहेको दाबी गरे । 



जनकपुरधाम मधेस प्रदेशको राजधानी भइसकेपनि यहाँको विकास र परिवर्तनले गति लिन नसक्नुमा नेतृत्वपंक्तिको ठूलो गल्ती रहको आरोपसमेत लगाए ।

नयाँ जोश, नयाँ सोच, नयाँ परिवर्तन र नयाँ जनकपुरधाम निर्माणका लागि मेयर पदमा आफ्नो दावेदारी रहेको साहले बताए । 
 

  • प्रकाशित मिति : बैशाख १, २०७९ बिहीबार १५:१२:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया