एसिया कप तेस्रो चरणमा शतप्रतिशत प्रदर्शन गर्नेछौँ : प्रशिक्षक अलमुताइरी

नेपाल राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली टिमले एसिया कपमा स्थान बनाउने सम्भावना न्यून रहेको बताएका छन् । समूहमा बलियो टोली रहेको र छनोट पार गर्न असम्भव रहेको जनाउँदै उनले नेपाल छनोट हुने सम्भावना न्यून रहेको बताएका हुन् ।

‘हाम्रो समूह निकै बलियो छ, सत्यता यो नै हो । हामी छनोट हुन सक्दैनौं,’ अलमुताइरीले शुक्रबार दशरथ रंगशालामा भने । उनले टोलीको रणनीति तयार भएको र शतप्रतिशत प्रदर्शन गर्ने बताए । प्रशिक्षक अलमुताइरीले नेपालमा केही समय अभ्यास गरेर कतारमा बन्द प्रशिक्षण गर्ने र त्यसपछि मात्र कुवेत जाने पनि बताए ।

एएफसी एसिया कप छनोटको तेस्रो चरणको तयारीका लागि आजबाट टोलीले दशरथ रंगशालामा प्रशिक्षण सुरु गरेको छ । पहिलो दिनको प्रशिक्षणमा कप्तान किरण चेम्जोङ र देवेन्द्र तामाङबाहेक अन्य खेलाडीको उपस्थित रहेको थियो । 

किरण माल्दिभ्सको शीर्ष डिभिजन लिगमा व्यस्त भएकाले अभ्यासको पहिलो दिन अनुपस्थित भएका हुन् । देवेन्द्र पारिवारिक कारण पहिलो दिनको अभ्यासमा सहभागी नभएको बताइएको छ । 

छनोटको समूह ‘ए’ मा रहेको नेपालले जोर्डन, कुवेत र इन्डोनेसियाको सामना गर्नेछ । तीनै टोली फिफा वरीयतामा नेपालभन्दा माथि छन् । छनोटको सबै खेल कुवेतमा हुनेछन् ।

छनोटको पहिलो खेल नेपालले ८ जुनमा जोर्डनविरुद्ध खेल्ने तालिका छ । दोस्रो खेलमा नेपालले ११ जुनमा कुवेत र तेस्रो खेलमा १४ जुनमा इन्डोनेसियाविरुद्ध खेल्नेछ । यसअघि नेपाली टोलीको मुख्य प्रशिक्षक अलमुताइरीले छनोटका लागि २५ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेका छन् । 



नेपाली टोली : किरण चेम्जोङ (कप्तान), दीप कार्की, विशाल श्रेष्ठ, अनन्त तामाङ, नवयुग श्रेष्ठ, दिनेश राजवंशी, विमल घर्तीमगर, अञ्जन विष्ट, सुजल श्रेष्ठ, गौतम श्रेष्ठ, रोहित चन्द, सुमन अर्याल, सुरजजिउ ठकुरी, आयुष घलान, मनिष डाँगी, पुजन उपरकोटी, सन्तोष तामाङ,  सुमन लामा, सुनिल बल, तेज तामाङ, एरिक विष्ट, विशाल राई, विकास खवास, देवेन्द्र तामाङ र दर्शन गुरुङ । 




  • प्रकाशित मिति : बैशाख २, २०७९ शुक्रबार १२:१४:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया