वर्ष २०७९ मा नेपाली खेलकुद : एसियाडमा विशेष नजर

हिजोबाट नयाँ वर्ष २०७९ सुरु भएको छ । यो वर्ष नेपाली खेलकुद कति व्यस्त रहन्छ यकिन नभए पनि केही पूर्वनिर्धारित प्रतियोगिता भने अवश्य नै हुनेछन् । 

नयाँ वर्षको आगमन भएसँगै नेपाली खेलकुदले पनि यो वर्ष अधिकतम उपलब्धिको आशा गर्नेछ । 

कोरोना महामारीको असरले गर्दा पछिल्लो दुई वर्षसम्म खेलकुदमा ठोस उपलब्धि र रणनीतिक योजना तर्जुमा भएनन् । वर्ष २०७८ को पछिल्ला ६ महिनामा भने खेल क्षेत्र चलायमान रह्यो । धेरै राष्ट्रिय/अन्तर्राष्ट्रिय गतिविधि भए ।

२०७९ मा भने वर्षभरि नै खेलक्षेत्र व्यस्त रहने अपेक्षा गरिएको छ ।

एसियाली खेलकुद (एसियाड)

सेप्टेम्बरमा (भदौ २५ देखि असोज ९ गतेसम्म) महादेशीय खेलकुद महामेला १९ औं एसियाली खेलकुद चीनको ह्वाङ्झोउ सहरमा हुँदैछ ।



याे नेपालको सहज सहभागिता रहने सबैभन्दा ठूलो प्रतियोगिता हो । नेपालले अहिलेसम्म सहभागी खेल संख्या भने टुंग्याएको छैन । 

नेपालले बढीमा २० वटा खेलमा सहभागी गराउने तयारी गरेको छ । चार वर्षअघिको १८ औं एसियाली खेलकुदमा नेपालबाट २७ खेलका १८१ खेलाडीको सहभागिता रहेकाे थियो ।



नवौं राष्ट्रिय खेलकुद 

गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद आयोजना हुँदैछ । ३० चैतमा सरकारले जेठ २२ देखि २८ सम्म नवौं खेलकुद आयोजनाको निर्णय गरेको थियो । 

खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप)ले डेढ महिनाभित्र सम्पूर्ण तयारी पूरा गरी प्रतियोगिता आयोजना गर्ने बताइसकेको छ ।

आठौं राष्ट्रिय खेलकुदमा ३५ खेलका ३७ स्पर्धा समावेश गरिएको थियो । यस संस्करणमा पनि त्यो संख्या नघटाउने गरी प्रतियोगिता आयोजना गर्ने राखेपको तयारी छ । 

फुटबल

चीनमै आयोजना हुने एएफसी एसियन कप-२०२३ छनोटकाे अन्तिम चरणमा नेपालले प्रतिस्पर्धा गर्नेछ । छनोटको समूह ‘ए’ मा नेपाल, जोर्डन, कुवेत र इन्डोनेसिया छन्।

२४ टिमले प्रतिस्पर्धा गर्ने छनोटमा सहभागी टिमलाई विभिन्न ६ समूहमा विभाजन गरिएको छ । जसमा समूह विजेता ६ र समूह उपविजेतामध्ये उत्कृष्ट ५ टोली एसिया कपमा छनोट हुनेछन् ।

नेपाल कठिन समूहमा परेकोले एसिया कपमा पुग्ने सम्भावना निकै कम रहेको नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले समेत स्वीकारिसकेका छन् ।

कुवेतमा हुने छनोटमा नेपालले पहिलो खेल जोर्डनसँग ८ जुन (२६ जेठ गते), दोस्रो खेल कुवेतसँग ११ जुन (२८ जेठ) र तेस्रो तथा अन्तिम खेल इन्डोनेसियासँग १४ जुन (३१ जेठ) मा खेल्नेछ ।

नेपालले छनोट खेल्नुअघि केही देशसँग मैत्रीपूर्ण खेल खेल्ने तयारी गरिरहेको छ। सहीद स्मारक ‘ए’ डिभिजनलगायतका घरेलु लिग तथा माेफसलका प्रतियोगिताले पनि निरन्तरता पाउने नै छन् ।

यस्तै, राष्ट्रिय महिला लिगको पहिलो चरणको खेल चितवनको भरतपुरमा सम्पन्न भइसकेको छ भने दोस्रो चरण विराटनगरमा छिट्टै सुरु हुनेछ । 

क्रिकेट

यो वर्ष नेपाली क्रिकेट अन्तर्राष्ट्रिय खेलमा व्यस्त रहनेछ । आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले जेठमा अमेरिकामा एकदिवसीय श्रृंखला खेल्नेछ । त्यसपछि पनि नेपाल लिग-२ का अन्य श्रृखंलामा व्यस्त रहनेछ । 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को पछिल्लो बोर्ड मिटिङले २०२३ मा दक्षिण अफ्रिकामा महिला यु-१९ विश्वकप गर्ने निर्णय गरेपछि त्यसका लागि एसियाली क्षेत्रको छनोट यसै वर्ष हुनेछ । 

आइसिसीले आधिकारिक रूपमा सार्वजनिक नगरे पनि नेपाललगायत ८ राष्ट्र सहभागी हुने एसियाली छनोट जेठमा मलेसियामा हुनेछ ।

भलिबल

तालिका सार्वजनिक भई नसके पनि नेपालको राष्ट्रिय खेल भलिबलले पनि यो वर्ष केही अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नेछ । 

नेपालको महिला टोलीले लगातार दुई पटक एभिसी सेन्ट्रल जोनको उपाधि जितेको थियो । 

लगातारको सफलतापछि युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतरातले महिला टोलीले एसियन गेम्समा समेत सहभागिता जनाउने घोषणा गरेको थिए ।

अघिल्लोपटक पुरुष टोलीले एसियन गेम्समा सहभागी जनाउँदा बजेट नपुगेको भन्दै महिला टोली भने सहभागी भएकाे थिएन  । यस वर्ष पुरुष र महिलाको सेन्ट्रल जोनका लागि दक्षिण एसियाली स्तरको भलिबल प्रतियोगिता हुँदैछ ।

अघिल्लो वर्ष चैतमा हुनुपर्ने छैटौं संस्करणको आरबिबी (एनभिए राष्ट्रिय महिला र पुरुष भलिबल क्लब लिग) यही वैशाखमा आयोजना हुँदैछ । फुटबल, क्रिकेट र भलिबलबाहेक अन्य खेलको पनि राष्ट्रिय अन्तर्राष्ट्रिय गतिविधि पक्कै हुनेछन् ।

मैदान बाहिर

मैदान भित्रका गतिविधिका साथै मैदान बाहिर पनि नेपाली खेलकुद यो वर्ष व्यस्त रहनेछ । राखेपमा अदालती झमेला टुङ्गिएपछि टंकलाल घिसिङले पुनरागमन गरेका छन् ।

राखेपको सदस्य सचिव नियुक्त भएपछि अदालती झमेलामा परेका उनले सुरुमा खासै काम गर्न पाएनन् । नवौं राष्ट्रिय खेलकुदको आयोजना उनका लागि परीक्षण हुनेछ।

यस्तै, अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन पनि यसै वर्ष हुँदैछ । कर्मा छिरिङ शेर्पाको चार वर्षे कार्यकाल जेठमा सकिँदैछ । जेठ १५ गते तय भएको निर्वाचन असार ६ गतेका लागि सरेको छ ।

यसबाहेक नेपाल भलिबल संघदेखि दुई तिहाई संघकै नयाँ निर्वाचन गर्नुपर्ने अवस्था छ । तर, अन्य संघले भने अझै निर्वाचनबारे केही गृहकार्य गरेका छैनन्।  

राष्ट्रिय खेलकुद विकास ऐन कार्यान्वयन, प्रदेश र स्थानीय तहसँगको समन्वयलगायत धेरै नीतिगत काम यो वर्ष सम्पन्न गर्नुपर्ने चुनौती राखेप कार्यकारीलाई हुनेछ । 

  • प्रकाशित मिति : बैशाख २, २०७९ शुक्रबार १३:१७:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया