प्रो क्लब च्याम्पियनसिप : उपाधिका लागि शनिबार मलेसिया र रुपन्देही भिड्ने

भैरहवामा पहिलोपटक हुँदै गरेको अन्तरदेशीय क्रिकेट प्रतियोगिता प्रो क्लब च्याम्पियनसिपमा मलेसिया–११ र घरेलु टोली रुपन्देही–११ उपाधिका लागि शनिबार भिड्दै छन् ।

विगतका १० वर्षदेखि क्रिकेट प्रतियोगिता गराउँदै आएको जोहरा इन्टरनेसनल प्रालिले अस्ट्रेलियन लेग स्पिनर वार्नको स्मृतिमा भैरहवाको क्रिकेट विकासलाई देशव्यापी रूपमा चिनाउनका लागि आयोजना गरेको हो । 

सेमिफाइनल खेलमा मलेसियाले युपी–११ लाई र रुपन्देहीले नेपाल आर्मीलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका छन् । शनिबार दिउँसो २ बजे दुई टिमबीच फाइनल उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । 

सेमिफाइनलअन्तर्गतको पहिलो खेलमा मलेसिया–११ ले युपी–११ लाई १४ रनले पराजित गरेको थियो । त्यस्तै, दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली रुपन्देहीले अहिलेसम्म अविजित रहँदै आएको नेपाल आर्मीलाई स्तब्ध बनायो । 

टस जित्दै ब्यटिङको निर्णय गरेको आर्मीले १९ दशमलव ४ ओभरमा अल आउट हुँदै १ सय ३ रन बनायो । आर्मीका लागि रोहित पौडेलले ३६ रन र हरि चौहानले १७ रन बनाए । बलिङतर्फ रुपन्देहीका वसिर अहमद र रुपेश कुर्मीले २–२ विकेट लिए । 

१ सय ४ रनको विजयी लक्ष्यसहित मैदान छिरेको रुपन्देहीको ओपनिङ भने सुखद् हुन सकेन । रुपन्देहीका ३ जना खेलाडी दोहोरो अंक नै नपुगी पेभेलिएन फर्किए । पाँचौं विकेटको रूपमा मैदान छिरेका वसिर अहमदले पारीलाई सम्हाल्दै उँभो लगाए । उनले ३५ बलमा ४ चौका र २ छक्का सहित ४५ रन बनाएर रुपन्देहीको जितको आधार बलियो बनाए ।



रुपन्देहीका लागि सन्दीप रजालीले अविजित १९ रन र विशाल विक्रम केसीले १३ रन बनाए । बलिङतर्फ आर्मीका विक्रम सोबले एक्लैले ३ विकेट लिए ।  

वार्नको थाइल्यान्डमा हृदयाघातका कारण गत साता ५२ वर्षको उमेरमा निधन भएको थियो । लेजेन्ड लेग स्पिनर वार्नले ७०८ टेस्ट विकेट लिएका थिए । उनी टेस्ट क्रिकेटमा सर्वाधिक धेरै विकेट लिने दोस्रो खेलाडी हुन् ।



  • प्रकाशित मिति : बैशाख २, २०७९ शुक्रबार २०:३५:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया