राष्ट्रिय टाेलीका फुटबल खेलाडी भन्छन्- मैदानमा सतप्रतिशत दिनेछाैं

राष्ट्रिय फुटबल टोलीका खेलाडीले नेपाल बलिया टोलीसँग खेल्न तयार रहेको बताएका छन् । 

उनीहरूले एएफसी एसियन कप छनोटको तेस्रो चरणका लागि सुरु भएको प्रशिक्षणपछि शनिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै यस्तो कुरा बताएका हुन्।

खेलाडीहरूले नेपालको विपक्षी बलिया भए पनि टोलीले शतप्रतिशत प्रदर्शन गर्ने बताए । 

छनोटको समूह ‘ए’ मा रहेको नेपालले जोर्डन, कुवेत र इन्डोनेसियाको सामना गर्नेछ । 

तीनै टोली फिफा वरीयतामा नेपालभन्दा माथि छन् । छनोटको सबै खेल कुवेतमा हुनेछन् ।

छनोटको पहिलो खेल नेपालले ८ जुनमा जोर्डनविरुद्ध, दोस्रो खेल ११ जुनमा कुवेतविरुद्ध र तेस्रो खेल १४ जुनमा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।



‘सहज त छैन तर हाम्रो मनमा भने छनोट हुन्छौं नै भन्ने छ’,राष्ट्रिय टोलीका मिडफिल्डर सुजल श्रेष्ठले भने, ‘मैदानमा उत्रिइसकेपछि जित निकाल्दै देशकाे शिर उच्च राखौं भन्ने नै हुन्छ । हामी आफ्नोतर्फबाट शतप्रतिशत दिने प्रयास गर्ने छौं ।’

उनले प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको अभिव्यक्तिले खेलाडीलाई कुनै मानसिक दबाब नपरेको बताए। 



उनले भने, ‘हिजो प्रशिक्षकले नेपाल एसिया कपमा छनोट हुन सक्दैन भन्नु भएको रहेछ, मैले मिडियाबाट थाहा पाएँ । एक हिसाबले उहाँको कुरा पनि ठिकै होला । तर यसले हामीलाई कुनै मानसिक दबाब परेको छैन । ग्रुपमा यो कुरा उठेको पनि छैन । अभ्यास राम्रोसँग चलिरहेको छ । आशा छ, नतिजा पनि राम्रो आउला ।’ 

‘हामीले बलियो प्रतिस्पर्धी पाएको छौं । अहिले हाम्रो ध्यान टोलीलाई कसरी मजबुत बनाउन सकिन्छ भन्नेमै छ’, श्रेष्ठले थपे । 

डिफेन्डर राेहित चन्दले टाेलीकाे लक्ष्य एसियन कप छनाेट रहेकाे बताए । 

‘हिजोबाट अभ्यास सुरु भएको छ । अहिले हाम्रो लक्ष्य भनेको एसियन कप छनोट नै हो’,  डिफेन्डर चन्दले भने, ‘हामी कसरी बलिया टोलीसँग लड्ने भन्ने योजना बनाइरहेको छौं । हाम्रो सम्भावना निकै कम छ तर आफूले सकेको प्रयास गर्ने छौं । आशा छ नतिजा पनि राम्रौ आउनेछ ।’

लामो समयदेखि इन्डाेनेसियामा व्यावसायिक फुटबल खेलिरहेका रोहित आफूलाई उनीहरूको खेल्ने तरिकाबारे जानकारी रहेको बताए ।

उनले भने, ‘म लामो समयदेखि उता खेलिरहेको छु, त्यसैले मलाई उनीहरूको बारेका धेरै कुरा थाहा छ । प्रशिक्षकले आफ्नो योजना बनाउनु भएको छ । मैले पनि आफूले जानेको बताइरहेको छु । यसले टोलीलाई फाइदा नै गर्छजस्तो लाग्छ ।’

अर्का डिफेन्डर अनन्त तामाङ चुनाैती भए पनि त्यसका लागि तयार भएकाे बताउँछन् ।

‘हाम्रो विपक्षी हामीभन्दा धेरै माथिल्लो स्तरका छन् । यो हाम्रा लागि चुनौती हो तर यसका लागि हामी तयार छौं’, उनले भने । 

यसैगरी, गाेलरक्षक विशाल श्रेष्ठले एकजुट भई बलिया टाेलीसँग लड्ने बताए । 

उनले भने, ‘हामी एकजुट भएर बलिया टोलीसँग लड्ने छौं । आशा छ, नतिजा पनि राम्रो आउने छ ।’

प्रशिक्षककाे अभिव्यक्तिलाई लिएर गाेलरक्षक श्रेष्ठ भन्छन्, ‘हामी लड्नका लागि मैदान उत्रिँदैछाैं । अन्तिम साससम्म पनि लड्ने छौं । उनीहरू हामीभन्दा बलिया टोली हुन् तर हामी आफ्नो शतप्रतिशत दिने छौं । नतिजा कस्तो आउँछ, त्यो त खेलपछि मात्र थाहा हन्छ ।’ 

प्रशिक्षक अलमुताइरीले हिजाे पत्रकार सम्मेलनमा नेपाल एसिया कपमा छनाेट हुन नसक्ने बताएका थिए । 

  • प्रकाशित मिति : बैशाख ३, २०७९ शनिबार १३:३४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया