नेपाली काग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी स्थानीय तह चुनावमा नेपाली कांग्रेसले पार्टीको तल्लो तहमा केन्द्रले हस्तक्षेप नगर्ने बताएका छन् । शनिबार केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी रहँदा प्रवक्ता महतले महानगरपालिका र उपमहानगरमा गठबन्धन गर्ने र उम्मेदवार छान्नेबाहेक तल्लो तहमा केन्द्रको हस्तक्षेप नहुने बताएका हुन् ।
‘कहाँ गठबन्धन गर्न सकिन्छ, कहाँ सकिँदैन, कहाँ कसरी जान सकिन्छ वडाध्यक्षदेखि नगरसम्मको अध्यक्ष उपाध्यक्षको सिटमा कसरी जान सकिन्छ त्यो तल्लो तहमा नै टुंगो लगाउनुहुन्छ,’ पत्रकारहरूसँगको छलफलमा उनले भने, ‘महानगरपालिका र उपमहानगरपालिका बाहेक तलका अरू तहमा जहाँ अन्य तहलाई छलफल गर्न जिम्मेवारी दिइएको छ । त्यहीँबाट टुंगो लाग्छ । केन्द्रबाट यसो गर उसो गर भनेर निर्देशन जाँदैन ।’
नेपाली कांग्रेसको केन्द्रीय समितिले स्थानीय वस्तुस्थिति र आवश्यकताअनुसार तालमेल गर्ने निर्णय गरेको थियो । सोहीबमोजिम कहाँ कुन दलको कस्तो स्थिति छ, जनाधार के छ त्यसकै आधारमा तालमेल गर्नुपर्ने महतले बताए ।
कुनै तहमा कांग्रेस शक्तिशाली छ र तालमेल गर्न मिलेन भने त्यहाँ गठबन्धनविना नै प्रतिस्पर्धा हुनसक्ने उनले बताए । गठबन्धनसँग कुरा मिलेन भने पनि एमालेसँग भने गठबन्धन गर्न नजाने उनले प्रस्ट पारे ।
कांग्रेसले तल्ला तहमा वैशाख ३ गतेसम्मका लागि तालमेल गर्न समय दिएको थियो । सो अवधिमा सहमति नभएमा भोलिका दिनमा पनि सहमति गर्न सकिने उनले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।