आइपिएलः मुम्बईको लागातार छैटौँ हार, लखनउ १८ रनले विजयी

इन्डियन प्रिमियर लिग (आइपिएल)मा मुम्बई  इन्डियन्सले लगातार छैटौँ हार बेहोरेको छ । मुम्बईले आज सम्पन्न खेलमा लखनउ सुपर जायन्टसँग १८ रनको पराजय बेहोरेको हो ।

२०० रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभर नै ब्याटिङ गरे पनि नौ विकेट गुमाउँदै १८१ रन मात्र बनाउन सक्यो । मुम्बईका लागि सूर्यकुमार यादवले सर्वाधिक ३७ रनको योगदान दिए ।

डिवाल्ड ब्रेविसले ३१ र तिलक बर्माले २६ रन जोडे । चौथो विकेटका लागि सूर्यकुमार र तिलक बर्माले ६४ रनको साझेदारी गरे पनि टोलीलाई जित दिलाउन सकेनन् ।

लखनउका लागि आवेश खानले तीन तथा रवि विश्नोई, मार्कुस स्टोनिस, दुस्मन्थ चमिरा र जेसन होल्डरले एक–एक विकेट हात पार्दा दुई विकेट रन आउटका रूपमा प्राप्त भयो ।

यसअघि मुम्बईस्थित ब्रेबोर्न स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १९९ रन बनाएको थियो ।

लखनउका लागि कप्तान केएल राहुलले अविजित १०३ रनको शतकीय पारी खेले । उनले ६० बलमा नौ चौका र पाँच छक्का प्रहार गरे । मनीष पाण्डेले ३८ र क्विनटन डी ककले २४ रन बनाए ।



पहिलो विकेटका लागि राहुल र डि ककले ५२ रनको साझेदारी गर्दै लखनउलाई राम्रो  सुरुवात दिलाएका थिए । त्यस्तै, दोस्रो विकेटका लागि राहुल र मनीषले ७२ रनको साझेदारी गर्दै टोलीको पारी उकासे ।

मुम्बईका लागि जयदेव उनादकटले दुई  तथा मुरुगन आश्विन र फाबियन एलनले एक–एक विकेट हात पारे । जितसँगै ६ खेलमा आठ अंक जोडेको लखनउ दोस्रो स्थानमा उक्लिँदा मुम्बई विनाअंक पुछारमा छ ।



  • प्रकाशित मिति : बैशाख ३, २०७९ शनिबार १९:५९:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया