सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको स्थानीय तहमा आफ्नो पार्टीले उम्मेदवार पाउनुपर्ने दाबी गरेका छन् ।
स्थानीय तह निर्वाचनमा टिकट बाँडफाँटको विषयलाई लिएर सत्तारुढ पाँच दलीय गठबन्धनबीच छलफल भइरहेका बेला अध्यक्ष नेपालले भने एमालेले २०७४ सालमा जितेको स्थानमा आफ्नो पार्टीको हक लाग्ने बताएका हुन् ।
उनले एमालेले जितेको ठाउँमा जित्नु छ भने आफ्नो पार्टीले मात्रै जित्न सक्ने भन्दै टिकट बाँडफाँटको यो बेलामा त्यो कुराको ख्याल गर्न पनि गठबन्धनमा आवद्ध अन्य दलहरूलाई आग्रह गरे ।
पार्टीको सम्पर्क विशेष प्रदेश कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आफ्नो पार्टीले स्थानीय तह निर्वाचनमा यत्तिकै टिकटको दावी नगर्ने पनि बताए । तर, एमालेसँग प्रभाव भएका मान्छेहरू आफ्नो पार्टीसँग नजिक भएकाले जित हासिल गर्न आफ्नो पार्टीलाई सहज हुने उनको तर्क छ ।
'एमालेले जितको ठाउँमा पहिलो हक हाम्रो लाग्छ । पहिलो प्राथमिकता हाम्रो हो । त्यहाँ जित्नु छ भने हाम्रो उम्मेदवारले जित्न सक्छ । किन, एमालेका प्रभाव भएका मान्छेहरू हाम्रो नजिक हुन सक्दछन्' उनले भने ।
अध्यक्ष नेपालले गठबन्धनबीच उम्मेदवारी दिने विषयमा कुनै ठाउँमा सहमति भएन भने सहमत हुने दलसँग गठबन्धन गरेर चुनावी प्रतिस्पर्धा गर्न पाउने पनि बताए । उनले सत्तारुढ दलहरूबीच स्थानीय तहको टिकट बाँडफाँटको विषयमा छलफल भइरहेको पनि बताए ।
'अब कुनै पनि पार्टीसँग सहमति हुन सकेन भने जोसँग सहमति हुन्छ, त्योसँग हामी चुनाव जान सक्छौं । पाँचवटै दलको बीचमा सहमति भएन भने जुन दलसँग सहमति हुन्छ । र हामीलाई आत्मविश्वास हुन्छ । हामी एक्लै पनि जित्न सक्छौँ भन्ने कसैलाई लागेको छ भने एक्लै पनि उभिन सक्छ । तर जित सुनिश्चित हुनुपर्दछ’ उनले भने ।
अध्यक्ष नेपालले चुनावी तालमेल गर्दा तलतलका कार्यकर्ताको कुरा सुनेर गर्न नहुनेतर्फ पनि गठबन्धनमा आवद्ध अन्य दलहरूको ध्यानाकर्षण गराए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।