म्यानचेस्टर सिटीलाई पराजित गर्दै लिभरपुल एफए कपको फाइनलमा प्रवेश गरेको छ । गएराति वेम्बली स्टेडियममा भएको पहिलो सेमिफाइनलमा ३–२ को रोमाञ्चक जित निकाल्दै लिभरपुल उपाधि नजिक पुगेको हो ।
लिभरपुलको जितमा सादियो मानेले दुई तथा इब्राहिमा कोनाटेले एक गोल गरे । सिटीका ज्याक ग्रेलिस र बेर्नान्डो सिल्भाले एक/एक गोल फर्काए । खेलको नवौं मिनेटमा कोनाटेको गोलमार्फत लिभरपुलले अग्रता लिएको थियो ।
१७ औं तथा ४५ औं मिनेटमा मानेले गोल गर्दा लिभरपुलले पहिलो हाफमा ३–० आरामदायी अग्रता बनायो । ४७ औं मिनेटमा सिटीका ग्रेलिसले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए । थप गरिएको समयमा सिल्भाले गोल गर्दै सिटीलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त नबन्दा लिभरपुलले ३–२ को रोमाञ्चक जित निकाल्यो ।
लिभरपुलले २०११/१२ को सिजनपछि पहिलोपटक एफए कपको फाइनलमा स्थान बनाएको हो । उसले उपाधिका लागि चेल्सी र क्रिस्टल प्यालेसबीचको विजेतासँग खेल्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।