सत्ता गठबन्धनमा रहेका दलहरूले केन्द्रबाट चुनावी तालमेल गर्ने सहमति गरे पनि स्थानीय तहमा नेता/कार्यकर्ता भने त्यसको विरोधमा देखिएका छन् । गठबन्धनको ठूलो दल नेपाली कांग्रेसभित्र चुनावी तालमेलको विषयमा देशभर असन्तुष्टि बढेको छ ।
साथै, गठबन्धनमा आवद्ध अरू पार्टीमा पनि तालमेलको विषयमा असन्तुष्टि छ । यसैबीच, बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा पनि भागबण्डा नमिल्दा कांग्रेसले गठबन्धनबाट बाहिरिने निर्णय गरेको छ ।
कांग्रेस स्वामिकार्तिक खापर गाउँपालिकाको बैठकले गठबन्धनमा नजाने निर्णय गरेको हो । पालिका अध्यक्ष कांग्रेसले पाउनुपर्ने माग गर्दै आएको र नेकपा एकीकृत समाजवादीले अस्वीकार गरेका कारण गठबन्धन भत्किएको हो ।
स्वामिकार्तिक खापर गाउँपालिकामा माओवादी र एकीकृत समाजवादीसँग गठबन्धन नगर्ने निर्णय गरिएको कांग्रेस बाजुरा प्रदेश (क) का सचिव जनक धामीले बताए ।
२०७४ को स्थानीय निर्वाचनमा यो गाउँपालिकामा नेकपा एमालेले जितेको थियो । एमाले विभाजनपछि भने गाउँपालिका अध्यक्ष चिरञ्जिवी शाही र उपाध्यक्ष मिमा बुढाले एकीकृत समाजवादी रोजेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।