इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोका जुम्ल्याह शिशुमध्ये एकको मृत्यु भएको छ । रोनाल्डो र उनकी प्रेमिका जर्जिना रोड्रिग्वेजले सोमबार राति सामाजिक सञ्जालमार्फत आफ्नो बच्चाको निधन भएको जानकारी दिएका हुन्।
उनीहरू लेखेका छन्, ‘आफ्नो बच्चाको निधनबारे हामीले दुःखका साथ भन्नु परेको छ ।’ उनीहरूले जुम्ल्याहमध्ये छोराको मृत्यु भएको र छोरी बाँचेको बताएका हुन् ।
उनीहरूले यो कुनै पनि अभिभावकले महसुस गर्नसक्ने सबैभन्दा ठूलो पीडा भएको र जुम्ल्याहमध्ये छोरी बाँचेकाले आफूहरूलाई केही आशा र खुसी मिलेको पनि उल्लेख गरेका छन् ।
‘दुईमध्ये छोरी बाँचिन्, यसले हामीलाई केही आशा र खुशीका साथ बाँच्न बल दिएको छ’, उनीहरूले एक विज्ञप्तिमार्फत भनेका छन् । ३७ वर्षीय रोनाल्डो र २८ वर्षीया रोड्रिग्वेजले गएको अक्टोबरमा आमाबुबा बन्न लागेको घोषणा गरेका थिए ।
रोनाल्डोको यसअघि चार बच्चा भइसकेका छन् । रोड्रिग्वेजबाट पहिलो सन्तानको रूपमा सन् २०१७ मा अलाना मार्टिनाको जन्म भएको थियो ।
त्यस्तै, उनका छोरा रोनाल्डो जुनियर र जुम्ल्याह सन्तान इभा र माटिओ छन् । रोनाल्डो जुनियरको जन्म २०१० मा भएको हो । इभा र माटियो सन् २०१७ मा सेरोगेसीको माध्यमबाट जन्मिएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।