गठबन्धन बैठक : महानगरको भागबण्डा मिल्यो, उपमहानगरको छलफल जारी
फाइल तस्वीर

पाँच दलीय सत्ता गठबन्धनमा महानगरपालिकाको सिट बाँडफाँट गर्ने विषयमा सहमति जुटेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलका शीर्ष नेताहरूको बैठकले महानगरपालिकाको भागबण्डामा सहमति जुटाएको हो । 

सहमतिअनुसार देशका ६ वटा महानगरपालिकामध्ये तीनवटा नेपाली कांग्रेसले पाउने भएको छ । त्यस्तै, एक/एकवटा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले पाउने  सहमति भएको बैठकमा सहभागी एक नेताले बताए ।

उनका अनुसार कांग्रेसको भागमा काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका परेको छ । यस्तै, माओवादी केन्द्रले भरतपुर महानगर पाउने भएको छ । यसअघि भरतपुरमा नेपाली कांग्रेसले पनि दाबी गरेको थियो ।

त्यस्तै, एकीकृत समाजवादीले पोखरा पाउने भएको छ । यसअघि पोखरामा कांग्रेसले पनि दाबी गरेको थियो । कांग्रेस पछि हटेसँगै पोखरा एकीकृत समाजवादीले पाउने भएको हो । वीरगन्ज महानगरपालिका भने जनता समाजवादी पार्टीको भागमा परेको छ । 

सत्ता गठबन्धनमा महानगरको भागबण्डाका विषयमा  सहमति भए पनि निर्णय भइसकेको छैन । सिट बाँडफाँटका विषयमा निष्कर्षको नजिक पुगेको सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् । 

'बैठकमा हरेक कोणबाट विचार आएका छन् सबै सकरात्मक रुपले अघि बढेका छन्' उनले भने, 'हामी निष्कर्षको चरणमा प्रवेश गरेका छौं ।' आफूहरू ६ वटा महानगरपालिका र ११ उपमहानगरको विषयमा समग्रमा छलफल गरिरहेको उनले बताए । 



त्यस्तै, सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले पनि सहमति सकारात्मक भएको बताए । नेताहरूले सहमतिको माइन्युटमा हस्ताक्षर गर्न बाँकी रहेको उनको भनाइ छ । उनले महानगरको भागबण्डा टुङ्ग्याएको जनाउँदै अब उपमहानगरको पनि टुंगो लगाउने बताए ।

‘नेताहरूले माइन्युटमा हस्ताक्षर गर्न बाँकी छ । हस्ताक्षर नगरी भन्न भएन । उपमहानगरको पनि टुंगो लगाउँछौं,’ नेता गुरुङले भने । 



सत्ता गठबन्धनमा महानगर र उपमहानगरको सिटको भागबण्डा केन्द्रबाट मिलाउन सहमति भएको थियो । त्यसैले भागबण्डा मिलाउन सोमबारदेखि गठबन्धन दलको बैठक बस्दै आएको थियो ।

आजको बैठकमा भने नेताहरु महानगरको भागबण्डा मिलाउन सफल भएका हुन् । उपमहानगरको भागबण्डा टुङ्ग्याउन बैठक आजै राति १० बजेपछि पुन बस्ने जनाइएको छ ।

वैशाख ३० गते स्थानीय तहका निर्वाचन हुँदैछ । सत्तारुढ गठबन्धनले भने चुनावी तालमेल गरेर उम्मेदवार उठाउने सहमति गरेको छ । 

  • प्रकाशित मिति : बैशाख ६, २०७९ मंगलबार २०:५६:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया